NIMB Header 2
Nepal Life

मालढुङ्गा–बेनी सडक स्तरोन्नति अन्तिम चरणमा

National Life
  • BFIS News
  • 2026 Feb 20 13:08
मालढुङ्गा–बेनी सडक स्तरोन्नति अन्तिम चरणमा
Sanima Reliance

म्याग्दी ।  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग सञ्जालसँग जोड्ने मालढुङ्गा–बेनी १३ किलोमिटर सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।

Shikhar
NIMB

मालढुङ्गा–बेनी सडक खण्डलाई दुई लेनको ११ मिटर चौडाइमा विस्तार गरी कालोपत्र गरिँदै छ।

यो सडक राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) आयोजनाअन्तर्गत स्तरोन्नति गरिएको हो। पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने उक्त सडक निर्माणका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीसँग रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरिएको थियो।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार १३ किलोमिटरमध्ये ९६० मिटर बाहेकका खण्डमा कालोपत्र र ढलान सम्पन्न भइसकेको छ। हाल सम्पन्न खण्डमा रङरोगन र सुरक्षासम्बन्धी पूर्वाधार जडानको काम भइरहेको छ। वारीबेनी क्षेत्रमा ७६० मिटर तथा केराबारी र फर्से पहिरो प्रभावित क्षेत्रमा करिब एक–एक सय मिटर सडक ठेक्काबाट हटाइएको जनाइएको छ। वारीबेनीमा बस्तीबीच सडक विस्तारका क्रममा घरधनीको असहमति तथा अन्य स्थानमा पहिरोका कारण ती खण्ड हटाइएको हो। परियोजना २०७९ सालमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

निर्माण कार्य कोभिड–१९ महामारी, बाढीपहिरो र नदीजन्य निर्माण सामग्री अभावका कारण प्रभावित भएको थियो। सहायक ठेकेदार ओमकारेश्वरले काम अलपत्र छाडेपछि एक वर्षअघि मुख्य ठेकेदारले प्रत्यक्ष रूपमा निर्माण अघि बढाएको जनाइएको छ।

गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्र र दुई किलोमिटर २०० मिटर ढलान गरिएको थियो। साथै, गत मङ्सिरको पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको ६ किलोमिटर ५०० मिटर सडक कालोपत्र सम्पन्न भई प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले जानकारी दिए।

यो सडक म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका बासिन्दा, पर्यटक तथा तीर्थयात्रीका लागि प्रमुख आवतजावत मार्ग हो। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा ट्र्याक खुलेको यो सडक २०६८ सालमा एकतर्फी कालोपत्र गरिएको थियो। मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिएपछि सवारी चाप बढ्दै जाँदा साँघुरो सडक जीर्ण बन्दै गएको थियो।

स्तरोन्नतिपछि यात्रा समय घटेको यातायात व्यवसायी बुद्धि पुनले बताए। उनका अनुसार यसअघि करिब एक घण्टा लाग्ने यात्रा अहिले १५ देखि २० मिनेटमा सीमित भएको छ। वैकल्पिक घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनले उल्लेख गरे। स्थानीय बासिन्दा बाबुराम कार्कीका अनुसार कालोपत्रपछि धुलो र हिलोका कारण हुने समस्या कम भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया