नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहरदास मुल निर्वाचित
- BFIS News
- 2026 Jun 09 12:24
काठमाडौं, जेठ २५ । निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवौं र दशौं संयुक्त वार्षिक साधारण सभा २०८३ साल जेठ २५ गते काठमाडौंमा सम्पन्न भएको छ। संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
सभाले अध्यक्षद्वारा प्रस्तुत प्रगति विवरण तथा आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को आयव्यय सम्बन्धी वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।
साधारण सभामा बीमा क्षेत्रका विद्यमान समस्या, हालै सार्वजनिक भएको बजेटमा बीमा क्षेत्रसँग सम्बन्धित व्यवस्थाहरू तथा आगामी दिनमा संघले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। सहभागीहरूले बीमा क्षेत्रको विकास, लगानीकर्ताको हित संरक्षण तथा नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको छ। जसअनुसार अध्यक्षमा मनोहर दास मुल (अध्यक्ष, सगरमाथा लुम्बिनी इन्स्योरेन्स), उपाध्यक्षमा आजाद श्रेष्ठ (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) तथा कोषाध्यक्षमा रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स) चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा कुनाल कयाल (अध्यक्ष, सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सञ्चालक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) चयन भएका छन्। सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको बीमा क्षेत्र तथा संघप्रतिको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने निर्णय पनि गरेको छ।
साधारण सभामा राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकाल, एनएलजी इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाद वाग्ले, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक कृष्ण प्रसाद शर्मा तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सञ्चालक अजय स्थापितलगायतको उपस्थिति रहेको थियो।
संघले नयाँ नेतृत्वमार्फत निर्जीवन बीमा क्षेत्रको विकास, लगानीकर्ताको हकहित संरक्षण तथा नीतिगत सुधारका लागि थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया