महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै, आजै शपथ ग्रहण गर्ने तयारी
- BFIS News
- 2026 Jun 09 12:35
काठमाडौं । नेपाली वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी रहेको छ।
जीवनभर प्रविधि, शिक्षा, नवप्रवर्तन र सामाजिक विकासका क्षेत्रमा सक्रिय रहेका पुनको मन्त्री नियुक्तिलाई प्रविधि तथा अनुसन्धान क्षेत्रका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
म्याग्दीको दुर्गम नाङ्गी गाउँका बासिन्दा पुन नेपालमा सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गर्ने अभियन्ताका रूपमा परिचित छन्। उनले सञ्चालन गरेको नेपाल वायरलेस नेटवर्किङ परियोजना मार्फत हिमाली तथा ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरी शिक्षा, स्वास्थ्य तथा स्थानीय विकासमा योगदान पुर्याएका थिए।
उच्च शिक्षा हासिल गर्नुअघि विभिन्न विद्यालयमा करिब १२ वर्ष अध्यापन गरेका पुनले सन् १९८९ मा University of Nebraska बाट विज्ञान शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेका थिए। त्यसपछि आफ्नै गाउँ फर्किएर ग्रामीण शिक्षाको सुधार, कम्प्युटर शिक्षाको प्रवर्द्धन तथा आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्रिय बनेका थिए।
सन् २००१ मा BBC ले उनको गाउँ–गाउँमा इन्टरनेट पुर्याउने अभियानलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गरेपछि युरोप र अमेरिकाका विभिन्न दातृ संस्थाबाट सहयोग प्राप्त भएको थियो। त्यस सहयोगबाट नाङ्गी, राम्चे लगायतका क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गर्न सफल भएका थिए।
पुनले आफ्नो योगदानका लागि ‘इन्टरनेट हल अफ फेम’, जोनाथन बी. पोस्टल अवार्ड तथा रमन म्याग्सेसे पुरस्कार सहित विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्। उनको कार्यलाई Ashoka Foundation, Ramon Magsaysay Foundation लगायत संस्थाले मान्यता दिएका छन्।
देशमा अनुसन्धान, आविष्कार तथा प्रविधिमार्फत विकासका सम्भावना खोज्ने उद्देश्यसहित पुनले सन् २०१२ मा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए। गैरनाफामूलक उक्त संस्थामार्फत उनले स्वदेशी प्रविधि विकास, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएका छन्।
राजनीतिभन्दा लामो समयसम्म टाढा रहेर सामाजिक सेवा र आविष्कारमा समर्पित पुन पछिल्लो समय नीतिगत परिवर्तनका लागि प्रत्यक्ष रूपमा राजनीतिक तथा सरकारी संरचनामा सहभागिता आवश्यक रहेको निष्कर्षमा पुगेका थिए। ७१ वर्षको उमेरमा सार्वजनिक नीति निर्माणमा योगदान पुर्याउने लक्ष्यसहित सक्रिय राजनीतिक भूमिकामा आएका पुनको मन्त्री नियुक्तिले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रले नयाँ गति पाउने अपेक्षा गरिएको छ।
पुनका परिवारमा पत्नी ओम माया पुन तथा दुई छोरी झरना पुन र जुना पुन रहेका छन्। नेपालमा वैज्ञानिक सोच, अनुसन्धान संस्कृति र प्रविधिमैत्री विकासको पक्षमा निरन्तर आवाज उठाउँदै आएका पुनको मन्त्रिपरिषद् प्रवेशलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया