सुधन गुरुङको कमब्याक, फेरि गृहमन्त्री बन्ने
- BFIS News
- 2026 Jun 09 12:49
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ पुनः नेपालको गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष वालेन्द्र शाह (बालेन)ले गुरुङलाई फेरि गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार गुरुङको शपथ ग्रहण कार्यक्रम मंगलबार दिउँसो ३ बजेका लागि तय गरिएको छ। यससँगै केही महिनाअघि विवादका कारण पद त्यागेका गुरुङ पुनः मुलुकको आन्तरिक सुरक्षा नेतृत्वमा फर्किन लागेका हुन्।
गुरुङ यसअघि २०८२ चैत १३ गते प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका थिए। तर, गृहमन्त्री बनेको २६ दिनमै उनी विवादमा तानिएका थिए। व्यवसायी दीपक भट्टसँगको कथित सम्बन्ध सार्वजनिक भएपछि उनीमाथि नैतिक प्रश्न उठेको थियो। बढ्दो सार्वजनिक दबाब र राजनीतिक आलोचनाबीच उनले २०८३ वैशाख ९ गते नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिएका थिए।
राजीनामापछि केही समय सक्रिय राजनीतिक भूमिकाबाट टाढा देखिएका गुरुङको पुनरागमनलाई सत्ता राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाहले फेरि उनैमाथि विश्वास गर्दै गृह प्रशासनको जिम्मेवारी सुम्पन लागेका हुन्।
सामाजिक अभियन्ताबाट राजनीतिमा उदाएका गुरुङ ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक तथा संयोजकका रूपमा परिचित छन्। उनी नेपालमा भएको जेनजी आन्दोलनपछि युवा नेतृत्वको प्रमुख अनुहारका रूपमा स्थापित भएका थिए। उक्त आन्दोलनपछि उनी राष्ट्रपति र प्रधानसेनापतिसँग भएका विभिन्न राजनीतिक संवादमा समेत सहभागी भएका थिए। त्यसक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री चयन गर्ने र मध्यावधि निर्वाचनको बाटो खुलाउने राजनीतिक प्रक्रियामा पनि उनको भूमिका रहेको बताइन्छ।
यद्यपि, अन्तरिम प्रधानमन्त्री कार्कीसँग पनि उनको सम्बन्ध लामो समय सौहार्दपूर्ण रहन सकेन। २०८२ भदौ २९ गते राति उनले प्रधानमन्त्री कार्कीको राजीनामाको माग गर्दै प्रदर्शनको नेतृत्व गरेका थिए। मन्त्रिपरिषद् विस्तारका विषयमा आफूहरूसँग पर्याप्त परामर्श नगरेको आरोप लगाउँदै उनले विरोध जनाएका थिए।
२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा गुरुङ गोरखा–१ बाट रास्वपाका उम्मेदवार बनेका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गर्दै संसद्मा प्रवेश गरेका थिए।
गृह मन्त्रालयमा उनको पुनरागमनलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। समर्थकहरूले अनुभव र नेतृत्व क्षमताका आधारमा उनको पुनर्नियुक्तिलाई सकारात्मक रूपमा लिएका छन् भने आलोचकहरूले विगतका विवादहरूको स्मरण गराउँदै सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
यद्यपि, प्रधानमन्त्री शाहको निर्णयसँगै गुरुङले दोस्रो पटक गृह प्रशासनको नेतृत्व सम्हाल्ने लगभग निश्चित भएको छ। अब उनको दोस्रो कार्यकालले विगतका विवादलाई कसरी सम्बोधन गर्छ र गृह मन्त्रालयको कार्यसम्पादनलाई कुन दिशामा लैजान्छ भन्ने विषयमा चासो बढेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया