Nepal Life

७४९ स्थानीय तहमा फोरजी सेवा पुगेको दाबी, डिजिटल पूर्वाधार विस्तारमा जोड

NMB Bank
  • BFIS News
  • 2026 Feb 05 14:59
७४९ स्थानीय तहमा फोरजी सेवा पुगेको दाबी, डिजिटल पूर्वाधार विस्तारमा जोड
United Ajod

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका ७४९ स्थानीय तहमा फोरजी सेवाको पहुँच विस्तार भइसकेको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

डिजिटल पहुँच बढाउने लक्ष्यअनुसार मोबाइल तथा ब्रोडब्यान्ड पूर्वाधार विस्तार भइरहेको मन्त्रालयको भनाइ छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले फोरजी सेवाको विस्तारसँगै डिजिटल पहुँच अन्तर घटाउन प्रगति भएको बताइन्। उनले उच्च गतिको इन्टरनेट सेवा विस्तारका लागि अधिकांश सहर र गाउँ क्षेत्रमा ‘फाइबर टु द होम’ सेवा पनि फैलिएको जानकारी दिइन्।

प्रविधि क्षेत्रमा तीव्र परिवर्तन भइरहेकाले सेवाग्राहीको माग बढ्दै गएको उल्लेख गर्दै उनले सेवा प्रदायकहरूले नयाँ प्रविधि र अनुसन्धानलाई अपनाउनुपर्ने आवश्यकता औंल्याइन्। देशको मुख्य दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी विस्तारसँगै टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता डिजिटल सेवाको विकासमा ध्यान दिनुपर्ने उनले बताइन्।

दुर्गम क्षेत्रसम्म डिजिटल सेवा पुर्‍याउन आवश्यक संरचना निर्माणमा प्राथमिकता दिनुपर्ने पनि सचिव बस्नेतको धारणा थियो। उनले दूरसञ्चार सेवाको गुणस्तर र पहुँच दुवै बढाउनुपर्ने उल्लेख गर्दै सबै बस्तीमा वायरलेस र वायरलाइन दुवै प्रकारका सेवा विस्तार आवश्यक रहेको बताइन्।

मन्त्रालयले ग्रामीण दूरसञ्चार विकास कोष, पहिचान कार्यक्रम लगायतका माध्यमबाट पूर्वाधार विस्तारमा सहजीकरण गर्दै आएको पनि उनले जानकारी दिइन्। साथै टेलिकमका कर्मचारीको वृत्तिविकास तथा अन्य माग सम्बोधनका विषयमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया