बन्दिपुरमा वैशाख १८–१९ मा ‘गाउँ पर्यटन मेला–२०८३’ आयोजना हुने
- BFIS News
- 2026 Apr 19 17:32
पोखरा, वैशाख ६ गते । बन्दिपुर मा आगामी वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ । ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको बन्दिपुरमा हुने उक्त मेलाले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र बन्दिपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकीको सह–आयोजनामा मेला सञ्चालन हुन लागेको हो ।
बन्दिपुर गाउँपालिकाका प्रमुख सुरेन्द्रबाबु थापा ले ग्रामीण पर्यटनलाई प्रदेशको समृद्धिको आधार बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यसले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास गरिएको छ ।
नेपाल सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउँदै वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा गाउँ पर्यटनलाई थप सशक्त बनाउने उद्देश्य मेलाले बोकेको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछाने का अनुसार मेलामा सामुदायिक होमस्टे, पर्यटन व्यवसायी तथा स्थानीय उत्पादनका स्टलहरू राखिनेछन् । यसले साना तथा मध्यमस्तरका व्यवसायीलाई प्रत्यक्ष बजार पहुँच, उत्पादनको बजारीकरण तथा गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ । साथै बी–टु–बी र बी–टु–सी नेटवर्किङमार्फत व्यवसायीबीच सहकार्य विस्तार गरिनेछ ।
मेलामा ३० भन्दा बढी होमस्टे तथा पर्यटनसँग सम्बन्धित फर्महरूको सहभागिता रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लाबाट प्रतिनिधित्व हुने जनाइएको छ । पर्यटन व्यवसायी, नीति निर्माता, जनप्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी तथा स्वदेशी–विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
‘पहाडकी रानी’ भनेर चिनिने बन्दिपुर प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्त्वका कारण प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । ‘बन्दिपुर भ्रमण वर्ष २०२५’ सँग जोडिएको यस मेलाले गण्डकी प्रदेशका ग्रामीण गन्तव्यहरूको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
शोभा सापकोटा ले गाउँ पर्यटन बहुआयामिक विकासको आधार बन्न सक्ने बताउँदै यसले स्थानीय समुदायको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमअन्तर्गत ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दिपुर पर्यटन : हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । साथै विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धन गरिनेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)
.jpg)






प्रतिक्रिया