बीमा अभिकर्ता प्रति सरकार निरिह, कमिसनमा लगाइएको कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइयो
- BFIS News
- 2026 May 30 08:07
काठमाडौं । सरकार बीमा अभिकर्ताले आर्जन गर्ने कमिशन प्रति निरिह देखिएको छ। सरकारले बीमा अभिकर्ताले प्राप्त गर्ने सेवा शुल्क तथा कमिसनमा लाग्ने आयकरको दर बढाएको छ। आगामी आर्थिक वर्षको बजेटसँगै संसदमा प्रस्तुत आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताको आम्दानीमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको हो।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकमा बासिन्दा प्राकृतिक व्यक्ति रहेका बीमा अभिकर्तालाई भुक्तानी गरिने सेवा शुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर कट्टी गरिने व्यवस्था गरिएको छ।
विधेयकअनुसार आयकर ऐनको दफा ८८ को उपदफा (१) अन्तर्गत रहेको व्यवस्थामा संशोधन गर्दै बीमा अभिकर्ताका लागि छुट्टै कर दर निर्धारण गरिएको हो। नयाँ व्यवस्थामा “बासिन्दा प्राकृतिक व्यक्ति रहेको बीमा अभिकर्तालाई भुक्तानी गरिएको सेवा शुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर लाग्ने” उल्लेख गरिएको छ।
यसअघि बीमा अभिकर्ताबाट प्राप्त हुने कमिसन तथा सेवा शुल्कमा आयकर ऐनको दफा ८८(१) बमोजिम १५ प्रतिशतका दरले अग्रिम कर कट्टी हुँदै आएको थियो। उक्त दफामा ब्याज, प्राकृतिक स्रोतको उपयोगबापतको रकम, भाडा, रोयल्टी, सेवा शुल्क, कमिसन, बिक्री बोनस, अवकाश भुक्तानी तथा अन्य प्रतिफल भुक्तानी गर्दा कुल रकमको १५ प्रतिशत कर कट्टी गर्नुपर्ने व्यवस्था रहेको छ।
नयाँ संशोधनसँगै बीमा अभिकर्ताको हकमा भने उक्त सामान्य व्यवस्था परिवर्तन गरी करको दर २० प्रतिशत कायम गरिएको छ। यसले बीमा अभिकर्ताले प्राप्त गर्ने कमिसन आम्दानीमा कर दायित्व बढ्ने भएको छ।
सरकारले राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न करसम्बन्धी व्यवस्थामा संशोधन गर्दै आएको छ। बीमा अभिकर्ताको कमिसनमा कर वृद्धि पनि त्यही नीतिअन्तर्गत गरिएको व्यवस्था मानिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया