हिमालय संरक्षण विश्वकै साझा दायित्व : पूर्वराष्ट्रपति यादव
- BFIS News
- 2026 May 30 16:26
पूर्वराष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले राष्ट्रिय पहिचानलाई मजबुत बनाएको उल्लेख गर्नुभयो। उहाँले तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै विविधता नै नेपालको शक्ति भएको बताउनुभयो।
सगरमाथालाई मानवीय साहस, दृढ सङ्कल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीकका रूपमा उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रबीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राख्नुभयो। पर्यटन नेपालको समृद्धिको प्रमुख आधार भएको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “नेपालका हिमाल विश्वकै पहिचान हुन्। यसको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता अपरिहार्य छ। पर्यटनले सीमापारिका मानिसलाई जोड्छ र अवसर सिर्जना गर्छ। तर हामीले हाम्रा संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई भुल्नु हुँदैन।”
उक्त अवसरमा उहाँले पर्वतारोही, पथप्रदर्शक, उद्धारकर्मी, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरूको योगदानको कदर गर्दै सम्मान गर्नुभयो।
विभिन्न देशका कूटनीतिक प्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा डा. यादवले विदेशी पाहुनाहरूलाई बुद्ध र सगरमाथाको देश नेपालमा स्वागत गर्दै नेपाललाई विश्वव्यापी संवाद तथा दिगो हिमाली विकासको केन्द्रका रूपमा स्थापित गर्न यस्ता मञ्चहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
यस वर्षको प्रतिष्ठित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिग्गज पर्वतारोही पेर्टेम्बा शेर्पा लाई प्रदान गरिएको छ। शेर्पाले सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका थिए।
पर्यटन क्षेत्रमा उहाँले पुर्याएको अमूल्य योगदानको उच्च कदर गर्दै पूर्वराष्ट्रपति यादवले दोसल्ला ओढाएर, प्रमाणपत्र तथा ५१ हजार १५१ रुपियाँ नगद पुरस्कारसहित सम्मानित गर्नुभयो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया