NIMB Header 2
Prabhu Mahalaxmi

हाथवे इन्भेष्टमेन्टको नाममा नक्कली पत्र प्रसारित, आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह

United Ajod
  • BFIS News
  • 2026 Sep 29 20:04
हाथवे इन्भेष्टमेन्टको नाममा नक्कली पत्र प्रसारित, आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह
IME LIFE

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी शेयर बिक्रीसम्बन्धी नक्कली पत्र सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रसारित भएको जनाएको छ।

Nepal Life
NIMB

कम्पनीका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सम्बोधन गरिएको, चलानी नम्बर ३५/८३/८४ र मिति २०८३ असोज ११ गते उल्लेख भएको ‘शेयर बिक्री गर्ने सम्बन्धमा’ विषयको पत्र सामाजिक सञ्जालमा प्रसारित भएको थियो। उक्त पत्रमा कम्पनीका शेयरधनी अम्बिका प्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता शेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएको उल्लेख गरिएको थियो।

तर, कम्पनीले उक्त पत्र आफूले जारी नगरेको र पूर्ण रूपमा नक्कली रहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार पत्रमा प्रयोग गरिएको लेटरहेड, चलानी नम्बर, छाप तथा कम्पनी सचिवको हस्ताक्षर कम्पनीको जानकारी तथा स्वीकृतिबिना जालसाजीपूर्वक तयार गरी दुरुपयोग गरिएको हो।

कम्पनीले २०८३ असोज १३ गते जारी गरेको स्पष्टीकरणमा उक्त पत्रमा नाम उल्लेख गरिएका शेयरधनी अम्बिका प्रसाद पौडेलबाट नेपाल धितोपत्र बोर्डको २०८३ भदौ ९ गतेको निर्देशनअनुसार शेयर बिक्री गर्ने मनसायसहितको कुनै निवेदन, सूचना वा जानकारी प्राप्त नभएको जनाएको छ।

नेपाल धितोपत्र बोर्डको उक्त निर्देशनअनुसार सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशतभन्दा बढी शेयर बिक्री गर्नुपर्ने भएमा कम्तीमा १५ दिनअघि कम्पनीलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ। त्यस्तो जानकारी प्राप्त भएपछि कम्पनीले नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने र जानकारीको मान्य अवधि तीन महिना रहने व्यवस्था छ।

हाथवे इन्भेष्टमेन्टले वास्तविक रूपमा यस्तो जानकारी प्राप्त भएमा नेप्सेको आधिकारिक सूचना प्रणाली तथा कम्पनीको वेबसाइटमार्फत मात्र सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले यीबाहेक अन्य माध्यमबाट प्रकाशित शेयर कारोबारसम्बन्धी सूचनालाई अप्रमाणित मान्न शेयरधनी तथा लगानीकर्तालाई आग्रह गरेको छ।

कम्पनीले सर्वसाधारण शेयरधनीलाई भ्रममा पार्ने, शेयर कारोबारमा अस्वाभाविक प्रभाव पार्ने तथा कम्पनी, शेयरधनी र पदाधिकारीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले नक्कली सूचना तयार तथा प्रसारण गरिएको भन्दै घटनाको भर्त्सना गरेको छ।

यस विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा लिखित उजुरी दिने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। नक्कली पत्र तयार पार्ने तथा प्रसार गर्ने व्यक्ति वा समूह र जानीजानी त्यसलाई पुनः प्रकाशन वा प्रसारण गर्ने पक्षविरुद्ध धितोपत्रसम्बन्धी ऐन, २०६३, विद्युतीय कारोबार ऐन, २०६३ तथा मुलुकी अपराध संहिता, २०७४ बमोजिम कानुनी उपचार खोजिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले आफ्ना सूचना प्रकाशन गर्नुअघि कम्पनी सचिवालयबाट यकिन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। साथै, नक्कली पत्र आफ्नो प्लेटफर्मबाट हटाउन र कम्पनीको स्पष्टीकरणलाई समान प्राथमिकताका साथ प्रकाशित गर्न पनि सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

शेयरधनी तथा लगानीकर्तालाई सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित सामग्रीका आधारमा लगानीसम्बन्धी निर्णय नलिन र कम्पनी, नेप्से तथा सम्बन्धित नियामक निकायबाट जारी आधिकारिक सूचनामा मात्र भर पर्न कम्पनीले आग्रह गरेको छ।

कम्पनीका अनुसार यसको सञ्चालन, सुशासन तथा सूचना प्रवाहसम्बन्धी अभ्यास कम्पनी ऐन, २०६३, धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा नेपाल धितोपत्र बोर्ड र नेप्सेका निर्देशनअनुसार अघि बढाइएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया