Nepal Life

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

NMB Bank
  • BFIS News
  • 2024 May 20 05:05
बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै
United Ajod

काठमाडौं । बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार गरेको छ ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको छ । विनियमावलीको मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याउनु अगाडि सरोकारवालासँग आवश्यक राय सुझाव मागेको छ ।

राष्ट्र बैङ्कले तयार गरेको मस्यौदामा भनिएको छ, बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बाञ्छनीय भएकाले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी यो विनियमावली तर्जुमा गरी लागु गरिएको हो ।

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ को मस्यौदा अनुसार खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गरी तीन भागमा विभाजन गरिएको छ ।

सम्पूर्ण खाता रोक्कामा कुनै पनि खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ भने निश्चित खाता रोक्कामा निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ । त्यस्तै आंशिक खाता रोक्कामा खातामा रहेको रकममध्ये निश्चित रकम मात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावत् रूपमा प्रयोग गर्न सक्ने मस्यौदामा उल्लेख गरिएको छ ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागलाई हुने मस्यौदामा उल्लेख छ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकार प्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने छन् भने सम्बन्धित व्यक्ति वा संस्थाका अधिकार प्राप्त अधिकारीले निवेदन दिएको अवस्थामा खाता फुकुवा हुने व्यवस्था मस्यौदामा गरिएको छ ।

खाता रोक्का गर्नका लागि अधिकार प्राप्त अधिकारीले कानुनको व्यवस्था अनुसार स्पष्ट उल्लेख गरी खाता रोक्का गर्नुको कारण र खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य नेपाल सरकारले जारी गरेको परिचय खुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण खुलाई लिखित रूपमा राष्ट्र बैङ्कसमक्ष अनुरोध गरेमा इजाजतपत्र संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था मस्यौदामा छ ।

कानुनी व्यक्तिको हकमा भने खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ । यस्तै कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा भने रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैङ्कको विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने मस्यौदामा उल्लेख छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया