Nepal Life

सुपर ओभरको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 07:43
सुपर ओभरको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
United Ajod

काठमाडौं। स्कटल्याण्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल सुपर ओभरको तेस्रो प्रयासमा नेदरल्याण्ड्ससँग पराजित भएको छ।

Shikhar
Nepal Life
NIMB

टिटउट रङ्गशालामा सम्पन्न उक्त खेलमा निर्धारित २० ओभरको खेल टाई भएपछि दुई पटक सुपर ओभर खेलेको खेल अन्ततः तेस्रो सुपर ओभरमा गएर नेदरल्याण्ड्सले जित निकालेको हो।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो भने जवाफी ब्याटिङमा नेदरल्याण्ड्सले पनि सोही बराबर १९ रन बनाएर खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा नेदरल्याण्ड्सले १७ रन बनाउँदा नेपालले पनि १७ रनै बनाएपछि खेल तेस्रो पटक सुपर ओभरमा प्रवेश गर्‍यो।

तेस्रो सुपर ओभरमा नेपालले रन बनाउन नसक्दा पराजय व्यहोर्नुपर्‍यो। सुपर ओभरको पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंहले दुई बल डट खेलेर चौथो बलमा विकेट गुमाए। एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गर्दै जित दर्ता गर्‍यो।

यसअघि, नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। त्यसविपरीत नेपालले पनि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन नै बनाएपछि खेल टाई भएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ४८ रनको योगदान दिए। कुशल भुर्तेलले ३४ रन र रुपेश सिंहले १९ रन बनाए। खेलको अन्तिम बलमा नेपाललाई जितका लागि पाँच रन आवश्यक थियो तर नन्दन यादवले काइल क्लेनको बलमा चौका प्रहार गरेपछि खेल बराबरीमा टुंगिएको थियो।

बलिङतर्फ नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिएका थिए। काइल क्लेन, बेन फ्लेचर र जाँच लायनले समान एक–एक विकेट लिए।

नेदरल्याण्ड्सका लागि तेजा निदामनुरुले ३७ बलमा ३५ रन बनाए। विक्रमजित सिंहले दुई छक्का प्रहारसहित ३० रन बनाए। सकिब जुल्फिकरले २५, माइकल लेभिटले २० र म्याक्स ओ'डाउडले १९ रनको योगदान दिए।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। नन्दन यादवले दुई विकेट तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक–एक विकेट हात पारे।

यसअघि सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया