Nepal Life

४०औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आयोजना हुने

NMB Bank
  • BFIS News
  • 2025 Jun 24 20:53
४०औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आयोजना हुने
United Ajod

काठमाडौं, असार १० — नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) द्वारा आयोजित ४०औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव यस वर्ष २०८२ असार १३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भव्यताका साथ आयोजना हुने भएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाली संस्कृति संरक्षण तथा समाजमा आध्यात्मिक चेतनाको विस्तार गर्ने उद्देश्यले प्रेरित यस रथयात्रा कमलादी–घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–न्यूरोड–बसन्तपुर हुँदै टुडिखेलमा समापन हुनेछ। नगर परिक्रमा गर्दै भगवानको नाम संकीर्तन र भक्ति भावसहित हुने यस यात्रा नेपाली धार्मिक जीवनको एक अभिन्न पक्षको रूपमा रहेको छ।

नेपालको परम्परामा परापूर्वकालदेखि राजाको प्रमुख आतिथ्यमा हुने गरेको यस रथयात्रालाई निरन्तरता दिँदै, यस वर्ष पनि राष्ट्राध्यक्षको उपस्थितिमा रथयात्राको विधिवत् शुभारम्भ गरिनेछ। राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भगवान श्री जगन्नाथ, बलराम र सुभद्राजीको दर्शन गरी पूजामा सहभागी हुनुहुनेछ। साथै, इस्कोनका संस्थापक श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादजीलाई माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिनेछ।

ऐतिहासिक रूपमा जगन्नाथ पुरीका राजाले रथ यात्रा अघि भगवान विराजमान हुने मार्गमा सुनौलो झाडुले मार्ग सफा गर्ने परम्परा रहेको छ। त्यसै परम्परालाई निरन्तरता दिँदै, राष्ट्रपति पौडेलज्यूले पनि सो विधिमा सहभागी भई वैष्णव संस्कारलाई सम्मान दिनेछन्।

बिहान १० बजेदेखि शुरु हुने यो रथयात्राको मुख्य आकर्षण भगवान श्रीजगन्नाथ, बलराम र सुभद्राजीलाई आकर्षक रथमा विराजमान गराई नगर परिक्रमा गराउने हो। रथ तान्ने सेवा प्राप्त गर्नु भक्तजनका लागि एक विशेष आध्यात्मिक सौभाग्य मानिन्छ। हजारौँ भक्तजनहरू मृदङ्ग, करताल र अन्य बाजासहित हरिनाम संकीर्तन गर्दै सहभागी हुनेछन्।

यस अवसरमा विशेष पूजापाठ, आरती, वैदिक मन्त्रपाठ, फूल र धूपको सुवासले वातावरण पवित्र बनाइनेछ। भक्तजनहरूले रथयात्राको क्रममा भगवानको प्रत्यक्ष दर्शन गरी मन, वाणी र कर्म शुद्ध गर्ने दुर्लभ अवसर प्राप्त गर्नेछन्। साथै, दिव्य प्रेमपूर्वक तयार गरिएको निःशुल्क महाप्रसाद वितरण गरिनेछ।

बालबालिका, युवा, वृद्ध सबैका लागि लक्षित गरी भजन, नृत्य, आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ, जसले सम्पूर्ण परिवारलाई एकै ठाउँमा आध्यात्मिक अनुभूतिमा जोड्ने अपेक्षा गरिएको छ।

यो रथयात्रा केवल धार्मिक उत्सव मात्र नभई समाजमा प्रेम, करुणा, सेवा र आध्यात्मिक ज्ञान फैलाउने महान अभियान हो। नेपाली संस्कृतिको समुचित जगेर्ना गर्दै, विश्वभर आध्यात्मिक चेतनाको सन्देश फैलाउने दिशामा यो रथयात्रा महामहोत्सव एक ऐतिहासिक पाइला बन्ने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया