Nepal Life

निर्यातमा सोयाबिन तेलको दबदबा, आयातमा इन्धन र ग्याँसकै राज

NMB Bank
  • BFIS News
  • 2025 Oct 26 14:05
निर्यातमा सोयाबिन तेलको दबदबा, आयातमा इन्धन र ग्याँसकै राज
United Ajod

काठमाडौं । नेपालीहरुको मुख्य चाडबाडको सिजनसँगै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा उच्च वृद्धि देखिएको छ । भन्सार विभागका तथ्यांकअनुसार साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ, जुन अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा २६.०४ प्रतिशत बढी हो ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो वर्षको असोज मसान्तसम्म अन्तर्राष्ट्रिय व्यापार ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँमा सीमित थियो । यस वर्षको चाडबाड सिजनमा आयात र निर्यात दुबैमा उल्लेखनीय वृद्धि भएको छ । तर यो वृद्धिको स्वरूपले नेपालको व्यापार संरचनामा रहेका पुराना चुनौतीहरू अझै यथावत रहेको स्पष्ट देखाउँछ आयातमाथिको अत्यधिक निर्भरता र निर्यातको कमजोर विविधीकरण।

आयात बढ्यो, निर्यातमा छलाङ

असोज मसान्तसम्म नेपालले ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशत बढी हो । निर्यात पनि ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ — अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले वृद्धि ।

यद्यपि निर्यातमा यस्तो उल्लेखनीय वृद्धिसँगै पनि नेपालको व्यापार घाटा अझै ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशतले बढी हो । यसले देखाउँछ कि निर्यातले आयातको वृद्धिदरलाई पछ्याउन थालेको भए पनि समग्र व्यापार सन्तुलन अझै गहिरो घाटामा नै छ ।

व्यापार संरचनामा सीमित विविधता

नेपालको निर्यातको ठूलो हिस्सा सोयाविन तेलमा सीमित छ । असोज मसान्तसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ, जुन कुल निर्यातको लगभग आधा हिस्सा हो । यसले नेपाली निर्यात उत्पादनको विविधीकरण नहुँदाको जोखिमलाई देखाउँछ — एकल वस्तुमा निर्भरता हुँदा अन्तर्राष्ट्रिय मूल्य अस्थिरता वा आपूर्तिमा समस्या आयो भने निर्यात आयमा ठूलो असर पर्न सक्छ ।

त्यस्तै, निर्यात सूचीमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कार्पेट (२ अर्ब ५७ करोड) र सुर्यमूखी तेल (२ अर्ब १३ करोड) छन् । यी वस्तुहरूको हिस्सा भने तुलनात्मक रूपमा सानो छ ।

आयातमा इन्धन र कच्चा पदार्थको दबदबा

नेपालको आयात सूचिमा पनि ऊर्जा र कच्चा पदार्थकै प्रभुत्व छ । असोजसम्मको अवधिमा कच्चा सोयाबिन तेलको आयात ३० अर्ब २४ करोड रुपैयाँ पुगेको छ, डिजेल २० अर्ब ६९ करोड, रासायनिक मल १७ अर्ब ११ करोड, पेट्रोल १६ अर्ब ७६ करोड र एलपीजी ग्यास १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

त्यसैगरी, स्मार्टफोन (१३ अर्ब ६२ करोड), फलाम–स्टील, सवारी साधन र इलेक्ट्रिकल मेसिनरीहरूमा समेत ठूलो रकम विदेशिएको छ । यस्तो संरचनाले नेपालको उत्पादन क्षेत्रको कमजोर आधार र अत्यधिक उपभोग–निर्भर अर्थतन्त्रलाई झल्काउँछ ।

भारतसँग व्यापार निर्भरता अझै गहिरो

अन्तर्राष्ट्रिय व्यापारमा भारतको हिस्सेदारी सबैभन्दा बढी छ । नेपालले भारतबाट २ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा ५९ अर्ब १२ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । चीनसँगको व्यापार पनि असन्तुलित छ १ खर्ब ४ अर्ब रुपैयाँको आयातका विपरीत १८ करोड ६४ लाख रुपैयाँको निर्यात मात्र भएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा देखिएको हालको वृद्धि सकारात्मक संकेत हो। विशेषगरी निर्यातले पेट्रोलियम पदार्थको आयातलाई समेत नाघेको तथ्य नेपालको व्यापार इतिहासमा उल्लेखनीय मोड हो । तर, यसको दीर्घकालीन अर्थतन्त्रिक लाभका लागि आवश्यक संरचनागत सुधार, निर्यात विविधीकरण, उत्पादन क्षेत्र सुदृढीकरण, र वैदेशिक बजार विस्तार अझै पनि अत्यावश्यक छन् ।

अर्थतन्त्रका विश्लेषकहरूको भनाइमा, “यदि निर्यात वृद्धि तेलजन्य उत्पादनमा मात्र सीमित रह्यो भने यो टिकाउ उपलब्धि मान्न सकिँदैन।” नेपालले व्यापार घाटा घटाउने रणनीतिलाई उत्पादनमुखी नीतिहरूसँग जोड्न सकेमा मात्र वर्तमान वृद्धिलाई दिगो बनाउने सम्भावना रहनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया