जेनजी आन्दोलनका क्रममा बन्द रहेको तारागाउँ रिजेन्सी होटलको पाँच प्रतिशत नगद लाभांश घोषणा
- BFIS News
- 2025 Dec 09 10:47
काठमाडौँ । तारागाउँ रिजेन्सी होटल लिमिटेड (TRH) ले गत आर्थिक वर्षको नाफामाफाबाट आफ्ना शेयरधनीहरूलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले करबाहेक पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूले प्राप्त गर्नेछन्।
यसमाथि, बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स (हयात रिजेन्सी) ‘जेन–जी आन्दोलन’पछि कम्तीमा एक वर्षका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। आन्दोलनका क्रममा होटलमा ठूलो क्षति पुगेपछि अहिले समेत होटल बन्द अवस्थामा छ। यसैबीच, व्यवस्थापन र मजदुर संगठनबीच भएको सहमति अनुसार होटलले बन्द अवधिभर मजदुर तथा कर्मचारीलाई सरकारले तोकेको आधारभूत तलब १२ हजार १७० रुपैयाँ प्रदान गर्दै जानेछ।
तलबसँगै ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ। जसअनुसार ११ प्रतिशत व्यवस्थापनबाट र २० प्रतिशत होटलको श्रमिक कोषबाट योगदान हुने व्यवस्था गरिएको छ। बन्द अवधिमा श्रमिकको तलब भुक्तानी सुनिश्चित गर्न होटलले छुट्टै कोष स्थापना गरेको छ, जसमा २ करोड २० लाख रुपैयाँ राखिएको छ। व्यवस्थापनले थप २० लाख रुपैयाँ योगदान गर्ने सहमति समेत भएको छ।
होटलको पूर्ण मर्मत र पुन: सञ्चालनमा कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ। प्रवेशमा रोक लगाइएपछि श्रमिकहरूले असहमति जनाउँदै मागपत्र पेस गरेका थिए। अन्ततः पुगेको सहमतिमा होटल पुन: सञ्चालनमा फर्किएपछि सबै श्रमिक तथा मजदुरलाई पुन: काममा फर्काइने व्यवस्था गरिएको छ।
यसअघि व्यवस्थापनले बन्द अवधिमा पारिश्रमिक नदिने तथा पुन: रोजगारबारे अस्पष्ट बयान दिएपछि मजदुरहरूले दबाबको कार्यक्रम चलाएका थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया