एन. आर. कलेजकी एरिकाले १९औं एसियाली खेलकुदमा महिला कराँते तर्फ रजत पदक जित्न सफल

  • BFIS News
  • 2023 Oct Sun 04:47
एन. आर. कलेजकी एरिकाले १९औं एसियाली खेलकुदमा महिला कराँते तर्फ रजत पदक जित्न सफल

काठमाडौं । हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा एन. आर कलेजकी विद्यार्थी एरिका गुरुङले कराँते खेलमा ऐतिहासिक रजत पदक हासिल गरेकी छिन् । एन. आर. कलेजमा मानविकी संकाय स्नातक तह प्रथम वर्षमा अध्ययनरत एरिकाले हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियममा शनिबार एरिकाले महिला ६८ केजी तौल समूहमा नेपालका लागि ऐतिहासिक रजत पदक दिलाएकी हुन्।

क्याम्पस प्रमुख राजिप धितालले यस एन. आर. कलेजमा मानविकी संकाय स्नातक तह प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी एरिका गुरुङले चिनमा जारी १९औं एशियाली खेलकुदको कराते खेलतर्फ रजत पदक प्राप्त गरि देशकै गरिमा उच्च राख्न सफल भएकोमा सिंगो कलेज परिवार नै गौरवान्वित भएको बताएका छन् । एरिका गुरुङलाई कलेजको तर्फबाट धेरै धेरै बधाई तथा अझै थप सफलता सहित उज्ज्वल भबिष्यको लागी शुभकामना व्यक्त गरिएको छ । 

कराँतेमा रजत  जितेपछि एरिकाले आफ्नो पदक सिंगो नेपाल देशको लगि जितेको बताएकी छिन् ।  ‘‘मैले आफूले सकेको बेस्ट दिएको हो । फाइनलमा सोफ्याले राम्रो खेल्यो । सायद म चुकेँ । भविष्यमा अझ धेरै कडा मिहिनेत गर्नेछु । कराँतेका लागि अझै स्मार्ट बनेर लाग्नेछु, उनले भनिन्, ‘‘मैले फाइनल खेलाई हारभन्दा पनि एउटा लेसनको रुपमा लिएको छु । यसले मलाई थप मोटिभेसन दिएको छ ।’’

उनले थप एक्सपोजर पाउँदै गए अन्य नेपाली खेलाडीले पनि राम्रो गर्न सक्ने बताइन् । ‘‘देशका लागि पदक जित्न सक्दा मैले आफुलाई भाग्यमानी ठानेकी छु । आफूले आफूलाई प्राउड लागेको छ । अझै धेरै गर्नुछ, यो एउटा स्टेप मात्र हो,’’ १९ वर्षीया एरिकाले भनिन् ।

नेपालका प्रशिक्षक कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रुपमा रजत दिलाउन पाउँदा एकदमै खुशी लागेको बताए । ‘‘यो कराँतेको ऐतिहासिक पदक हो । हामीले जसको भिडियो हेरेर खेलेका थियौँ । फाइनलमा उसैसँग खेल्न पाएका छौँ । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्णपदक जित्न सकिन्छ,’’ कुशलले भने ।  

एरिकालाई हराएकी काजकिस्तानकी सोफ्या बेरुल्तसेभा एरिका राम्रो खेलाडी भएको प्रतिक्रिया दिइन् । ‘‘जापनालाई हराएपछि मलाई गाह्रो होला भन्ने सोचेको थिएँ । फाइट प्रतिस्पर्धात्मक थियो । जित्न सकेँ खुशी छु,’’ उनले भनिन् । सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेतासमेत हुन् । 

यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी हुन् । क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । 

दुवैको समान १–१ अङ्क भए पनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी हुन् । एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडीसमेत बनेकी छिन् ।

नेपालले एसियाड कराँतेमा पहिलो पटक रजत पदक जितेको हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो । यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा ब्यक्तिग रजत र अघिल्लो संस्करणमा नेपालको प्याराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो । नेपालका लागि यो समग्रमा तेस्रो र ब्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो । 

कराँते एसियाडमा नेपालका लागि पदक दिलाउँदै आएको खेल हो । यसअघि सन १९९४ मा जापानको हिरोशिमामा भएको एसियाडका करातेबाट सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडबाट विमला तामाङले काँस्य पदक दिलाएकी थिइन् । 

यस्तै शनिबार नै नेपालका सन्तोष श्रेष्ठ ६७ केजी तौल समूहको प्रिक्वार्टरमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अङ्कले पराजित भए । 

एसियाड कराँतेमा नेपालले पदकको आशा गरेको कराँते खेलाडी विप्लवलाल श्रेष्ठ शुक्रबार कांस्य नजिक पुगेर चुकेका थिए ।शुक्रबार भएको पुरुष कुमुतेको ८४ केजी तौलमाथि विप्लव रिपोचको काँस्य पदक भिडन्तमा साउदी अरेबियाका तारेग हामिदसँग ९–१ ले पराजित भएका थिए । (गोरखापत्रको सहयोगमा)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया