निर्जीवन बीमा व्यवसाय १३.७१ प्रतिशतले बढ्यो, शिखर शीर्ष स्थानमा कायम
- BFIS News
- 2026 Jun 26 09:04
काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसायले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनासम्म उत्साहजनक वृद्धि कायम राखेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै ४ अर्ब ९ करोड ६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। यो गत आर्थिक वर्षको सोही महिनाको ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँको तुलनामा ३.९२ प्रतिशत बढी हो।
जेठ महिनाको व्यवसायिक प्रदर्शनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) अग्रस्थानमा रहेको छ। कम्पनीले ५१ करोड ५२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्दै पहिलो स्थान ओगट्दा शिखर इन्स्योरेन्स ४३ करोड ४१ लाख रुपैयाँसहित दोस्रो र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ४२ करोड ५७ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेका छन्।
यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ३७ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३८ करोड २८ लाख रुपैयाँ बराबरको व्यवसाय गर्दै क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरेका छन्।
त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २८ करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २६ करोड ९६ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २३ करोड ७१ लाख रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले २१ करोड ५३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १९ करोड २२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १७ लाख रुपैयाँ तथा नेशनल इन्स्योरेन्सले १३ करोड २५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।
नेशनल इन्स्योरेन्सको वृद्धिदर सर्वाधिक
वृद्धिदरका आधारमा भने नेशनल इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको व्यवसाय गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा १७८ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ५६.७२ प्रतिशत, द ओरियन्टल इन्स्योरेन्सको २७.७९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ११.४७ प्रतिशत तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६.४५ प्रतिशतले बढेको छ।
त्यस्तै, शिखर इन्स्योरेन्सको व्यवसाय ६.१२ प्रतिशत, नेको इन्स्योरेन्सको ५.२५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.६७ प्रतिशत तथा नेपाल इन्स्योरेन्सको ३.८९ प्रतिशतले वृद्धि भएको छ।
यता, केही कम्पनीहरूको व्यवसाय भने घटेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ०.७४ प्रतिशतले घट्दा एनएलजी इन्स्योरेन्सको ९.७५ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १०.९१ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ११.५२ प्रतिशत तथा सानिमा जीआईसी इन्स्योरेन्सको २७.१८ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको छ।
११ महिनामा ४४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क
यस्तै, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात् ११ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। यस आधारमा निर्जीवन बीमा क्षेत्रको कुल व्यवसाय १३.७१ प्रतिशतले विस्तार भएको देखिन्छ।
११ महिनाको कुल व्यवसायमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीले ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्दै गत वर्षको तुलनामा १०.५२ प्रतिशत वृद्धि हासिल गरेको छ।
दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६ प्रतिशतको वृद्धिसहित ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३५ प्रतिशतको उल्लेखनीय वृद्धिसहित ४ अर्ब ७६ करोड रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सले ३६ प्रतिशतको उच्च वृद्धिदरसहित ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ०.२९ प्रतिशतले बढेर ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १५ प्रतिशतले वृद्धि भई ३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। नेको इन्स्योरेन्सले ११ प्रतिशत वृद्धि गर्दै ३ अर्ब २८ करोड रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले १५ प्रतिशत वृद्धि गर्दै २ अर्ब ८० करोड रुपैयाँ तथा युनाइटेड अजोड इन्स्योरेन्सले १४ प्रतिशत वृद्धि गर्दै २ अर्ब ७६ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सले ८ प्रतिशत वृद्धि गर्दै २ अर्ब ५५ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७ प्रतिशत वृद्धि गर्दै १ अर्ब ९७ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ तथा नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्।
बजार विस्तारको संकेत
प्राधिकरणको पछिल्लो तथ्याङ्कले निर्जीवन बीमा क्षेत्रमा समग्र रूपमा व्यवसाय विस्तार भइरहेको संकेत गरेको छ। मासिक आधारमा मध्यम वृद्धि कायम रहँदा वार्षिक रूपमा दोहोरो अंकको विस्तार देखिएको छ। विशेषगरी हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सले उच्च वृद्धिदर कायम राखेका छन् भने शिखर इन्स्योरेन्सले कुल व्यवसायमा आफ्नो अग्रता कायम राख्दै बजार नेतृत्वलाई थप मजबुत बनाएको देखिन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












_jEGOtGcTjV.jpg)




प्रतिक्रिया