भोटेकोशी बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडभन्दा बढीको दाबी, कम्पनी भन्छन् 'भुक्तानी गर्न सक्षम छौँ'
- BFIS News
- 2026 Sep 01 16:20
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २ अर्ब ५८ करोड ७३ लाख ५७ हजार ९ सय रुपैयाँभन्दा बढी बराबरको प्रारम्भिक बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त विवरणअनुसार विभिन्न निर्जीवन बीमकमा कुल ५८३ वटा बीमा दाबी दर्ता भएका छन्। यो रकम आगामी दिनमा बढ्दै जाने नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र बैद्यवार क्षेत्रीले बताए।
बीमकहरूमध्ये सबैभन्दा ठूलो प्रारम्भिक दाबी रकम दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको देखिएको छ। कम्पनीमा परेको दाबीको अनुमानित रकम १३ अर्ब ४ करोड रुपैयाँ रहेको छ।
त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा ८ वटा दाबीबाट ४ अर्ब ९७ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडमा १०२ वटा दाबीबाट २ अर्ब १० करोड रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा ६७ वटा दाबीबाट १ अर्ब ८८ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा १२७ वटा दाबीबाट १ अर्ब ८७ करोड रुपैयाँ बराबरको दाबी परेको छ। यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा ४५ वटा दाबीबाट ६४ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्स लिमिटेडमा ६६ वटा दाबीबाट ५१ करोड ७० लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
अन्य कम्पनीहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ३२ वटा दाबीबाट २४ करोड २३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ३२ वटा दाबीबाट २३ करोड ८६ लाख रुपैयाँ तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडमा २६ वटा दाबीबाट १८ करोड ७३ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा २१ वटा दाबीबाट ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स लिमिटेडमा १४ वटा दाबीबाट ३ करोड १२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा दुई वटा दाबीबाट ७६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई वटा दाबीबाट ५३.३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा भने एउटा दाबीबाट ५ लाख रुपैयाँ बराबरको क्षति दाबी प्राप्त भएको छ।
बीमालेखको प्रकारका आधारमा हेर्दा सबैभन्दा ठूलो क्षति इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा देखिएको छ। यस शीर्षकअन्तर्गत ५२ वटा दाबीबाट २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। कुल बीमा दाबी रकमको ठूलो हिस्सा यही बीमालेखमा केन्द्रित रहेको देखिन्छ।
त्यसैगरी, सम्पत्ति बीमाअन्तर्गत ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड रुपैयाँ बराबरको दाबी परेको छ। मोटर बीमाअन्तर्गत सबैभन्दा धेरै ३१३ वटा दाबी दर्ता भए पनि रकमका हिसाबले १ अर्ब ५५ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी रहेको छ।
परिवहन बीमाअन्तर्गत ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख रुपैयाँ तथा अन्य बीमा शीर्षकअन्तर्गत ५४ वटा दाबीबाट ५२ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति दाबी परेको छ। स्वास्थ्य बीमातर्फको प्रारम्भिक दाबी रकम ४१६ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
बाढीबाट जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधार, सवारीसाधन, व्यवसायिक सम्पत्ति र सीमावर्ती नाकामा रहेका सामानमा व्यापक क्षति पुगेको छ।
बाढीपछि हजारौँ मानिस सम्पर्कविहीन भएको तथा हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको अवस्थामा यस पटक जीवन बीमा क्षेत्रमा पनि ठूलो मात्रामा दाबी पर्ने अनुमान गरिएको छ।
प्रारम्भिक विवरणअनुसार सबैभन्दा धेरै दाबी इन्जिनियरिङ तथा टेक्निकल बीमा अन्तर्गत परेको देखिएको छ। बाढीका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेकाले यस क्षेत्रमा दाबी रकम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
यस सँगै सम्पत्ति, मोटर तथा परिवहन बीमामा पनि ठूलो मात्रामा दाबी पर्ने देखिएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका उद्योग, व्यवसाय, घर तथा अन्य सम्पत्तिमा भएको क्षतिसँगै सवारीसाधन र ढुवानीमा रहेका सामानको क्षतिले पनि बीमा दाबीको आकार बढाउन सक्ने बीमा क्षेत्रका अधिकारीहरू बताउँछन्।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले नेपाली बीमा कम्पनीहरू ठूलो दाबी भुक्तानी गर्न सक्ने अवस्थामा रहेको बताएका छन्। उनका अनुसार कम्पनीहरूले सम्भावित दाबी भुक्तानीका लागि आवश्यक तयारी गरिरहेका छन् र बीमितबाट दाबी प्रक्रिया अघि बढेपछि भुक्तानी व्यवस्थापन गर्न बीमा कम्पनीहरू सक्षम छन्।
नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र बैद्यवार क्षेत्रीले पनि नेपाली बीमा कम्पनीहरू दाबी भुक्तानी गर्न सक्ने अवस्थामा रहेको बताएका छन्। तर, प्रभावित क्षेत्रमा उद्धार, राहत र खोजी कार्य प्राथमिकतामा रहेकाले धेरै बीमितले तत्कालै दाबी प्रक्रिया अघि बढाउन नसकेको उनले बताए।
उनका अनुसार हालसम्म प्राप्त दाबी सूचनाको संख्या वास्तविक क्षतिको तुलनामा निकै कम हुन सक्छ। मानिसहरू अझै सामान्य अवस्थामा फर्किन नसकेको, क्षतिको विवरण संकलन गर्न कठिनाइ भएको तथा धेरै व्यवसायी र प्रभावित परिवार दाबी प्रक्रियामा प्रवेश गर्न नसकेको कारण प्रारम्भिक रूपमा कम मात्र दाबी सूचना आएको उनको भनाइ छ।
कसरी हुन्छ दाबी भुक्तानीको व्यवस्थापन
बीमा कम्पनीहरूले आफूले स्वीकार गरेको सम्पूर्ण जोखिम एक्लैले बहन गर्दैनन्। बीमकहरूले जोखिमको निश्चित हिस्सा आफैं राख्ने र बाँकी ठूलो हिस्सा पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ। त्यसैले अत्यन्त ठूलो दाबी पर्दा पनि बीमा कम्पनीहरूको मात्र नभई पुनर्बीमा कम्पनीहरूको पनि वित्तीय सहभागितामा दाबी भुक्तानी हुने व्यवस्था रहेको छ।
विशेषगरी यस वर्ष दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएकाले इन्जिनियरिङ तथा सम्पत्ति बीमातर्फ ठूलो दाबी पर्ने अनुमान गरिएको छ। त्यस्तै, नाका क्षेत्रमा भण्डारण गरिएका सामान तथा आवतजावतका क्रममा रहेका सवारीसाधनको पनि बीमा गरिएको हुन सक्ने भएकाले ती क्षेत्रबाट समेत दाबी बढ्न सक्ने देखिएको छ। यद्यपि, प्रभावित व्यवसायी तथा सम्पत्ति धनीहरूले बीमा गरेका थिए वा थिएनन् भन्ने विस्तृत विवरण आउन बाँकी छ।
बीमा क्षेत्रका अधिकारीहरूका अनुसार वास्तविक क्षतिको विवरण संकलनसँगै आगामी दिनमा दाबी रकम र दाबी संख्या दुवै उल्लेख्य रूपमा बढ्न सक्छन्।
विपद्को समयमा बीमाको महत्व झनै स्पष्ट हुने भन्दै बीमा क्षेत्रका सरोकारवालाले प्रभावित नागरिक र व्यवसायीलाई आफ्नो बीमा कागजात तथा क्षतिको विवरण सुरक्षित राखेर दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। सम्पत्ति पूर्ण रूपमा नष्ट भएको अवस्थामा पनि बीमाले आर्थिक पुनःस्थापनामा महत्वपूर्ण सहयोग गर्ने भएकाले प्राकृतिक विपद्को जोखिम बढ्दै गएको नेपालजस्तो मुलुकमा बीमा सुरक्षाको अपरिहार्यता थप बढेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया