NIMB Header 2
Nepal Life

भोटेकोशी बाढी : राष्ट्रिय विपत्तिसँग साहस र दृढताका साथ लडिरहेका छौँ : प्रधानमन्त्री शाह

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 02 15:36
भोटेकोशी बाढी : राष्ट्रिय विपत्तिसँग साहस र दृढताका साथ लडिरहेका छौँ : प्रधानमन्त्री शाह
United Ajod

काठमाडौँ, भदौ १७ गते । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय विपत्तिको सामना सरकार साहस, दृढता र विश्वासका साथ गरिरहेको बताएका छन्। उनले विपत्तिको यस घडीमा सरकारको प्राथमिकता उद्धार, राहत, स्वास्थ्य उपचार तथा प्रभावित क्षेत्रको पुनर्स्थापना रहेको बताए।

Nepal Life
NIMB

प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी रसुवा, नुवाकोट र धादिङमा मात्र सीमित विपत्ति नभई समग्र नेपालको साझा पीडा भएको बताए। राष्ट्रिय नेतृत्वले संकटका बेला आँसु नभई साहस, सहारा र विश्वास प्रदान गर्नुपर्ने उल्लेख गर्दै उनले विपत्तिसँग लड्नुको विकल्प नरहेको बताए।

उनका अनुसार बाढीपछि उद्धार तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको तथा ६९ वटा उडानमार्फत ३५१ जनाको उद्धार गरिएको उनले जानकारी दिए। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार भइसकेको र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको उनले बताए।

राहत तथा आश्रय व्यवस्थापन

सरकारले प्रभावित जिल्लामा राहत वितरणका लागि रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ तथा धादिङमा ५० लाख रुपैयाँ निकासा गरेको प्रधानमन्त्री शाहले बताए। बाढी प्रभावितका लागि स्थापना गरिएका ११ वटा आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय लिइरहेको उनले जानकारी दिए।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको उनले बताए। विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै पुनर्स्थापना र पुनर्निर्माणका कामलाई पनि अघि बढाइने सरकारको योजना रहेको उनले उल्लेख गरे।

जलविद्युत् क्षेत्रमा ठूलो क्षति

भोटेकोशी–त्रिशूली करिडोरमा रहेका जलविद्युत् आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको प्रधानमन्त्री शाहले बताए। उनका अनुसार ८ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजना, जसको कुल क्षमता २८१ मेगावाट छ, तथा ४ वटा निर्माणाधीन आयोजना, जसको क्षमता ३८८ मेगावाट छ, क्षतिग्रस्त भएका छन्।

बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उनले बताए। विद्युत् सेवा पुनःस्थापनाको काम भने तीव्र रूपमा भइरहेको उल्लेख गर्दै उनले नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको जानकारी दिए।

जलवायु परिवर्तनलाई मुख्य कारण

प्रधानमन्त्री शाहले पछिल्लो विपत्तिको पृष्ठभूमिमा जलवायु परिवर्तनको प्रभावलाई प्रमुख कारणका रूपमा प्रस्तुत गरे। हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ तथा चट्टान खस्ने क्रम बढेको र त्यसबाट भीषण बाढीको अवस्था सिर्जना भएको उनले बताए।

बाढीपछि शव व्यवस्थापनका विषयमा उठेका प्रश्नबारे पनि उनले संसदमा स्पष्ट पारे। पहिचान हुन नसकेका शवको डीएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको उनले बताए।

विदेशी विज्ञ टोली परिचालन

विपत्तिपछिको उद्धार तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए। भारत, चीन, पाकिस्तान, अमेरिका, बेलायत, एसियाली विकास बैंक र विश्व बैंकलगायत मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग प्राप्त भइरहेको उनले बताए।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोज तथा उद्धारका लागि भारतीय, चिनियाँ र कोरियाली विज्ञ टोली परिचालन भइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले विपद्का बेला संघ, प्रदेश र स्थानीय सरकारबीच निरन्तर समन्वय भइरहेको बताए। सरकार प्रभावित नागरिकसँग हिजो, आज र भोलि पनि साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै उनले उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने सबै सरोकारवाला निकायप्रति आभार व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया