अमेरिकाको बैंकिङ क्षेत्रमा सबैभन्दा शक्तिशाली महिला 'जेन फ्रेजर' ५० बैंकमध्ये दुई वटामा मात्रै महिला नेतृत्व
- BFIS News
- 2026 Oct 28 21:04
अमेरिका । विश्व बैंकिङ क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव, कृत्रिम बौद्धिकता (एआई), डिजिटल मुद्रा र वित्तीय जोखिमका चुनौतीबीच नेतृत्वदायी भूमिका निर्वाह गरेका महिलाहरूको सन् २०२६ को सूची सार्वजनिक भएको छ। ‘द मोस्ट पावरफुल वुमन इन बैंकिङ २०२६’ सूचीमा सिटी बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन फ्रेजर लगातार छैटौँ वर्ष पहिलो स्थानमा रहेकी छन्।
अमेरिकाका ठूला बैंकहरूको नेतृत्व, वित्तीय कार्यसम्पादन, प्रविधिमा लगानी, नयाँ उत्पादन विकास, सञ्चालन दक्षता तथा कर्मचारी, ग्राहक र समुदायप्रतिको प्रतिबद्धताका आधारमा उक्त सूची तयार पारिएको हो। सूचीमा बैंकिङ, वित्त, सम्भावना बोकेका महिला नेतृत्व, उत्कृष्ट टोली र ४० वर्ष वा सोभन्दा कम उमेरका नेतृत्वकर्तालाई समेटिएका पाँच छुट्टाछुट्टै विधा छन्।
सन् २०२५ देखि २०२६ को पहिलो अर्धवार्षिक अवधिसम्म बैंकिङ क्षेत्रले व्यापार शुल्कमा भएको वृद्धि, ब्याजदरको अनिश्चितता, ऋणसम्बन्धी जोखिम, डिजिटल सम्पत्तिको विस्तार र एआईबाट सिर्जित अवसर तथा चुनौती सामना गरेको थियो। यस्तो परिस्थितिमा परम्परागत कार्यशैलीमा मात्र निर्भर नभई नयाँ रणनीति अपनाएका महिला नेतृत्वकर्ताले आफ्नो संस्थाको कार्यसम्पादन सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको सूचीमा उल्लेख छ।
बैंकिङ विधामा जेन फ्रेजर पहिलो, गुञ्जन केडिया दोस्रो
बैंकिङ विधामा सिटीकी सीईओ जेन फ्रेजर पहिलो स्थानमा रहँदा यूएस बैंककी सीईओ गुञ्जन केडिया दुई स्थान सुधार गर्दै दोस्रोमा पुगेकी छन्। फ्रेजरको नेतृत्वमा सिटीले सन् २०२५ मा ८५ अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको थियो, जुन एक दशकभन्दा बढी अवधिमा बैंकको उच्चतम आम्दानी हो। त्यस्तै, सीईओका रूपमा पहिलो वर्षमा केडियाको नेतृत्वमा यूएस बैंकको सेयर मूल्य ४६ प्रतिशत बढेको उल्लेख छ।
अमेरिकाका शीर्ष ५० बैंकमध्ये सिटी र यूएस बैंकको नेतृत्व गर्ने महिला फ्रेजर र केडिया मात्र रहेको विवरणमा उल्लेख छ।
यस विधाको शीर्ष पाँचमा जेपीमर्गन चेजकी मारियान लेक तेस्रो, जेनिफर पिप्सज्याक चौथो र लोरी बियर पाँचौँ स्थानमा छन्। लेक उपभोक्ता तथा सामुदायिक बैंकिङ व्यवसायको प्रमुख कार्यकारी पदमा रहेकी पूर्वनेतृत्वकर्ता हुन्।
वित्त विधामा मेरी कालाहान एर्डोज लगातार चौथो वर्ष पहिलो
वित्त विधामा जेपीमर्गन चेजकी मेरी कालाहान एर्डोज लगातार चौथो वर्ष पहिलो स्थानमा रहेकी छन्। उनले सन् २०२५ र २०२६ को सुरुवाती अवधिमा सम्पत्ति तथा धन व्यवस्थापन व्यवसायमा उल्लेखनीय नतिजा हासिल गरेको विवरणमा उल्लेख छ।
यस विधामा फिडेलिटी इन्भेस्टमेन्ट्सकी अबिगेल जोन्सन दोस्रो, फ्र्याङ्कलिन टेम्पलटनकी जेनी जोन्सन तेस्रो, नास्ड्याककी एडेना फ्राइडम्यान चौथो र टीआईएएकी थासुन्डा ब्राउन डकेट पाँचौँ स्थानमा छन्।
नयाँ सम्भावना बोकेका महिलाको सूचीमा क्रिस्टियाना राइली शीर्ष स्थानमा
‘वुमन टु वाच’ विधामा सान्टान्डर यूएसकी क्रिस्टियाना राइली चार स्थान सुधार गर्दै पहिलो स्थानमा पुगेकी छन्। बैंक अफ अमेरिकाकी सारोन मिलर दोस्रो, फिडेलिटी इन्भेस्टमेन्ट्सकी सिन्थिया लो बेस्सेट तेस्रो, एली फाइनान्सियलकी लिन्डसे स्याकनफ चौथो र फ्र्याङ्कलिन टेम्पलटनकी स्यान्डी काउल पाँचौँ स्थानमा छन्।
त्यस्तै, उत्कृष्ट टोलीतर्फ एचएसबीसीको नवप्रवर्तन बैंकिङ टोली पहिलो स्थानमा रहेको छ। स्टार्टअप केन्द्रित बैंकिङ सेवामा काम गर्ने उक्त टोलीपछि साउन्ड कम्युनिटी बैंक दोस्रो, बीएनपी पारिबा तेस्रो, मिजुहो अमेरिका चौथो र फिफ्थ थर्ड पाँचौँ स्थानमा छन्। विशिष्ट परियोजना, पहल, व्यावसायिक इकाइ वा समूहको कार्यसम्पादनका आधारमा टोलीहरूको मूल्याङ्कन गरिएको हो।
४० वर्ष वा सोभन्दा कम उमेरका नेतृत्वकर्तालाई समेटिएको ‘नेक्स्ट’ विधामा मोर्गन स्ट्यान्लीकी अम्ब्रिन सैयद पहिलो स्थानमा छन्। गोल्डम्यान स्याक्सकी एन–भिक्टोयर ओरियोल्ट दोस्रो, कीबैंककी एमिली गेस्नर तेस्रो, बैंक अफ अमेरिकाकी एलिसन व्हेलन चौथो र सर्भबैंककी शायना एरिङ्टन पाँचौँ स्थानमा छन्।
डिजिटल सम्पत्ति, एआई र जोखिम व्यवस्थापनमा महिला नेतृत्व
यस वर्षको सूचीमा डिजिटल सम्पत्ति, एआई र जोखिम व्यवस्थापनमा काम गरिरहेका नयाँ नेतृत्वकर्ताको उपस्थिति पनि उल्लेखनीय छ। फिडेलिटी इन्भेस्टमेन्ट्सकी डिजिटल सम्पत्ति व्यवस्थापन प्रमुख सिन्थिया लो बेस्सेट र फ्र्याङ्कलिन टेम्पलटनकी डिजिटल सम्पत्ति तथा नवप्रवर्तन प्रमुख स्यान्डी काउल नयाँ रूपमा सूचीमा समेटिएका छन्।
त्यस्तै, सिटीकी रयान रग डिजिटल सम्पत्ति, ट्रेजरी तथा ट्रेड सोलुसन्सकी विश्वव्यापी प्रमुखका रूपमा ‘वुमन टु वाच’ सूचीमा पहिलोपटक परेकी छन्। सीआईबीसी यूएसकी प्रविधि, डेटा तथा एआई प्रमुख ब्रिटनी स्कट र एली फाइनान्सियलकी प्रमुख जोखिम अधिकृत स्टेफनी रिचार्ड पनि यस वर्ष नयाँ रूपमा सूचीमा समेटिएका छन्।
डिजिटल सम्पत्ति र ब्लकचेनको विस्तारसँगै बैंकहरूको परम्परागत निक्षेप तथा भुक्तानी प्रणालीमा प्रतिस्पर्धा बढिरहेको छ। अमेरिकामा स्टेबलक्वाइनसम्बन्धी नियामकीय व्यवस्था, टोकनाइजेसन र एआईको व्यावसायिक प्रयोगले बैंकहरूलाई नयाँ अवसरसँगै जोखिम व्यवस्थापनमा थप ध्यान दिनुपर्ने अवस्था सिर्जना गरेको विवरणमा उल्लेख छ।
३५ वर्षभन्दा बढी योगदान गरेकी एमी ब्राडीलाई जीवनकाल उपलब्धि सम्मान
यस वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ कीबैंककी पूर्व प्रमुख सूचना प्रविधि अधिकृत एमी ब्राडीलाई प्रदान गरिएको छ। बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी समय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो। उनी सेप्टेम्बरमा लगानी परामर्शदाता संस्था एमएआई क्यापिटल म्यानेजमेन्टमा प्रबन्ध साझेदारका रूपमा आबद्ध भएकी थिइन्।
यसैगरी, फर्स्ट सिटिजन्सकी अध्यक्ष होप होल्डिङ ब्रायन्ट र उनकी भतिजी तथा फर्स्ट सिटिजन्सकी क्षेत्रीय कार्यकारी उपाध्यक्ष पेरी बेली दुवै यस वर्ष सम्मानित सूचीमा परेका छन्। ब्रायन्ट बैंकिङ विधामा र बेली ‘नेक्स्ट’ विधामा समेटिएका छन्।
समग्रमा, सन् २०२६ को सूचीले बैंकिङ नेतृत्वको मूल्याङ्कनमा वित्तीय नतिजासँगै प्रविधि, नवप्रवर्तन, जोखिम व्यवस्थापन र संस्थागत परिवर्तनलाई पनि महत्त्व दिएको छ। अनिश्चित आर्थिक तथा व्यावसायिक वातावरणमा नयाँ रणनीति अपनाउने नेतृत्वकर्ताले आफ्ना संस्थालाई प्रतिस्पर्धी बनाउन सक्ने सन्देश सूचीले दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया