‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा, हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको जोखिम
- BFIS News
- 2026 Oct 29 07:53
काठमाडौँ, कात्तिक १२ । बङ्गालको खाडीमा विकसित शक्तिशाली ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा देखिन थालेको छ । चक्रवातका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधी, पहाडी क्षेत्रमा पहिरो तथा पहाडी र तराईका विभिन्न स्थानमा भारी वर्षाको जोखिम बढेको छ ।
भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको चक्रवातले भारतका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा र आँधीबेहरी निम्त्याइरहेको छ । यसैबीच, बङ्गालको खाडीको पूर्वी क्षेत्रमा अर्को बलियो न्यूनचापीय प्रणाली विकसित भएकाले नेपालमा वर्षा र हिमपातको जोखिम थप बढेको मौसमविद्हरूले बताएका छन् ।
नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवातको प्रभाव बुधबार बिहानदेखि नेपालमा देखिन थालेको हो । विभागकी मौसमविद् विनु महर्जनका अनुसार देशका विभिन्न स्थानमा बदली हुनुका साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भएको छ ।
महर्जनले कात्तिक १३ र १४ गतेसम्म चक्रवातको प्रभाव तीव्र हुने बताइन् । उनका अनुसार उच्च हिमाली क्षेत्रमा हिमआँधीसहित भारी हिमपात हुने सम्भावना रहेकाले प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने हुन सक्छ ।
चक्रवातका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुने सम्भावना रहेकाले विभागले त्यहाँका बस्ती तथा पर्यटनसम्बन्धी गतिविधि आगामी तीन दिनका लागि बन्द गर्न अपिल गरेको छ । ती क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ ।
मौसमविद् निष्ठा निरौलाका अनुसार पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ । भारतको बिहारनजिकका नेपाली क्षेत्रमा हावाहुरीसहित वर्षा हुन सक्ने उनले बताइन् ।
हिमपात र पहिरोको सम्भाव्यता अध्ययन सुरु
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै जलविज्ञान अनुसन्धान केन्द्रले उच्च हिमाली क्षेत्रमा निगरानी बढाएको छ । केन्द्रका प्रमुख डा. राजन भट्टराईका अनुसार तीन हजार मिटरभन्दा माथि रहेका करिब २३ वटा स्वचालित हिममापन केन्द्रको पछिल्लो अवस्थाबारे जानकारी लिइएको छ ।
भट्टराईले वर्षा र बाढीभन्दा हिमआँधीको प्रभाव बढी गम्भीर हुन सक्ने देखिएकाले हिमाली क्षेत्रको अनुगमनमा केन्द्रित भएको बताए । उनका अनुसार वर्षा मापन गरेजस्तै हिउँको मात्रा तत्कालै यकिन गर्न कठिन हुने भएकाले हिमपातको सम्भावित परिमाण आकलन गर्न चुनौती छ ।
नेपाल प्रवेश गर्ने क्रममा चक्रवातको प्रभाव भारतको तुलनामा केही कमजोर हुन सक्ने भए पनि यसको दिशा र फैलावटले वर्षा तथा हिमपातको तीव्रता निर्धारण गर्ने उनले बताए । चक्रवात छरिएर अघि बढ्ने वा कुनै निश्चित क्षेत्रमा केन्द्रित हुने भन्ने आधारमा सम्भावित जोखिमको आकलन गर्न सकिने उनको भनाइ छ । बिहीबार रातिदेखि दुवै मौसमी प्रणालीको प्रभाव देखिने अनुमान गरिएको उनले बताए ।
भारी हिमपातसँगै पहाडी जिल्लामा पहिरोको जोखिमसमेत बढेको छ । सम्भावित प्रभावित क्षेत्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भए पहिरो जान सक्ने अवस्था रहेकाले पूर्वानुमान र सतर्कता सूचना जारी गर्ने तयारी भइरहेको भट्टराईले बताए ।
यसैगरी, बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार खहरे तथा स्थानीय खोलामा आउन सक्ने आकस्मिक बाढीको निगरानीसमेत सुरु गरिएको छ ।
दसैँअघि विकसित शक्तिशाली न्यूनचापीय प्रणालीका कारण सगरमाथालगायत उच्च हिमाली क्षेत्रमा आठ फिटभन्दा बढी हिउँ परेको थियो । अहिले शक्तिशाली चक्रवात नै विकसित भएकाले त्यसअघिको भन्दा ठूलो हिमपात हुन सक्ने जोखिम रहेको केन्द्रले जनाएको छ ।
भारतको मौसम विज्ञान विभागका अनुसार नेपालतर्फ आउने चक्रवातको हावाको गति प्रतिघण्टा १५० देखि १७० किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मौसम विभागका मौसमविद् विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलले हिमपातसँगै वर्षाको मात्रा पनि ठूलो हुन सक्ने देखाएको बताए ।
तीन दिन सतर्क रहन विपत् प्राधिकरणको अपिल
अर्णव चक्रवातको प्रभाव कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा पर्ने सम्भावना रहेकाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ ।
प्राधिकरणका अनुसार चट्याङ, हावाहुरी र भारी वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम छ । यस्तो अवस्थामा धानबाली काट्ने तथा भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।
प्राधिकरणले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र ती क्षेत्रमा पुगिसकेका पर्यटकलाई जोखिमको अवधि समाप्त नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । आवश्यक परे सवारी आवागमन बन्द गर्न तथा बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
भारी वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नगराउन पनि प्राधिकरणले आग्रह गरेको छ ।
यसैबीच, जोखिमयुक्त तथा निषेधित क्षेत्रमा पदयात्रा अनुमति दिने कार्य विभागले स्थगित गरेको छ । ट्रेकिङ एजेन्सी, पदयात्री र पथप्रदर्शकलाई जारी निर्देशन पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया