Siddartha Bank
Prabhu Mahalaxmi

नाफामा नबिल, प्रतिशेयर आम्दानी र सम्पत्तिको गुणस्तरमा एभरेष्ट बैंक अगाडि, कसको अवस्था कस्तो?

United Ajod
  • BFIS News
  • 2026 Nov 03 15:47
नाफामा नबिल, प्रतिशेयर आम्दानी र सम्पत्तिको गुणस्तरमा एभरेष्ट बैंक अगाडि, कसको अवस्था कस्तो?
Sanima Reliance Life Insurance Company

ग्लोबल आईएमईको मूल्य–आम्दानी अनुपात आकर्षक, स्ट्यान्डर्ड चार्टर्ड पनि उच्च प्रतिफल दिने बैंकको सूचीमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा, प्रतिशेयर आम्दानी, लाभांश क्षमता र कर्जाको गुणस्तरमा उल्लेख्य सुधार देखिएको छ। समग्र बाणिज्य बैंकहरु मध्ये कुल नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ भने प्रतिशेयर आम्दानी, लाभांश क्षमता र निष्क्रिय कर्जाको अनुपातका आधारमा एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ।

Nepal Life
NIMB

पहिलो त्रैमासमा सबैभन्दा बढी खुद नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक, ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंक क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। 

पहिलो त्रैमासमा बैंकहरूको नाफा १ खर्ब ९१ अर्ब

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १ खर्ब ९१ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। तर, बैंकहरूको वित्तीय अवस्था, लाभांश वितरण क्षमता, प्रतिसेयर आम्दानी र खराब कर्जाको अवस्था विश्लेषण गर्दा बैंकहरूबीच उल्लेख्य अन्तर देखिएको छ।

पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफामा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ भने प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा र कर्जाको गुणस्तरका आधारमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन्।

नेपालमा हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा छन्। तीमध्ये १९ वटा बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन् भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सूचीकृत छैन। त्यसैले खुद नाफाको विश्लेषणमा २० वटै बैंकलाई समेटिएको छ भने प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा, मूल्य आम्दानी अनुपात र खराब कर्जाको तुलनामा १९ सूचीकृत बैंकलाई समेटिएको छ।

नाफामा नबिल बैंक अगाडि

पहिलो त्रैमासमा नबिल बैंकले सबैभन्दा बढी २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ।

यस अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिटिजन्स बैंक इन्टरनेसनल रहेको छ। बैंकले १० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ। कृषि विकास बैंकले १० करोड ९२ लाख र एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन्।

यसले कुल नाफामा ठूला बैंकहरूको योगदान बलियो देखिए पनि सबै बैंकको नाफा आर्जन क्षमता समान नरहेको स्पष्ट पार्छ।

वितरणयोग्य नाफामा एभरेष्ट बैंक अगाडि, पाँच बैंक ऋणात्मक

लाभांश वितरण गर्ने क्षमताको सूचक वितरणयोग्य नाफा प्रतिसेयर (डीपीएस) मा एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको पहिलो त्रैमासको गैरवार्षिकीकरण गरिएको वितरणयोग्य नाफा प्रतिसेयर २६ रुपैयाँ ८७ पैसा रहेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक २२ रुपैयाँ १९ पैसा र सिद्धार्थ बैंक २१ रुपैयाँ ९६ पैसासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यसको विपरीत पाँचवटा बैंकको वितरणयोग्य नाफा प्रतिसेयर ऋणात्मक रहेको छ। प्रभु बैंकको यस्तो सूचक २८ रुपैयाँ ८३ पैसा ऋणात्मक, हिमालयन बैंकको ४३ रुपैयाँ ३९ पैसा ऋणात्मक र एनआईसी एसिया बैंकको १०३ रुपैयाँ २१ पैसा ऋणात्मक छ।

वितरणयोग्य नाफा ऋणात्मक हुनुमा कर्जा नोक्सानी व्यवस्थाका लागि गर्नुपर्ने प्रावधान, खराब कर्जाको समायोजन तथा सञ्चित घाटालगायतका कारण जिम्मेवार देखिन्छन्। यस्तो अवस्थाले ती बैंकको तत्काल लाभांश वितरण गर्ने क्षमतामा दबाब परेको संकेत गर्छ।

प्रतिसेयर आम्दानीमा पनि एभरेष्ट बैंक पहिलो

प्रतिसेयर आम्दानी (ईपीएस) मा एभरेष्ट बैंकले अग्रता कायम गरेको छ। पहिलो त्रैमासको आम्दानीलाई वार्षिकीकरण गर्दा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा पुगेको छ।

नबिल बैंक ३० रुपैयाँ ३४ पैसा र स्ट्यान्डर्ड चार्टर्ड बैंक २६ रुपैयाँ ७४ पैसासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यता, कमजोर आम्दानीका कारण एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४२ पैसा र सिटिजन्स बैंकको २ रुपैयाँ ६८ पैसामा सीमित भएको छ। कृषि विकास बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको छ। ऋणात्मक ईपीएस हुने कृषि विकास बैंक एक मात्र बैंक हो।

प्रतिसेयर आम्दानीको यो अन्तरले बैंकहरूको सञ्चालन दक्षता र नाफा आर्जन क्षमतामा रहेको भिन्नतालाई देखाउँछ।

नोटः प्रतिसेयर आम्दानी गणना गर्दा अग्राधिकार सेयरको लाभांश समायोजन गरिएको छ।

मूल्य आम्दानी अनुपातमा ग्लोबल आइएमई बैंक आकर्षक

सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको सम्बन्ध देखाउने मूल्य आम्दानी अनुपात (पीई रेसियो) मा ग्लोबल आइएमई बैंक सबैभन्दा न्यून अनुपातमा देखिएको छ। बैंकको पीई रेसियो १०.८८ गुणा रहेको छ।

प्राइम कमर्सियल बैंकको ११.९८ गुणा र नेपाल बैंकको १३.४२ गुणा पीई रेसियो रहेको छ। तुलनात्मक रूपमा न्यून पीई रेसियोले हालको आम्दानीका आधारमा ती बैंकको सेयर मूल्य कम मूल्यांकनमा रहेको संकेत गर्न सक्छ।

अर्कोतर्फ, सिटिजन्स बैंकको पीई रेसियो ८२.५७ गुणा र एनआईसी एसिया बैंकको ९३.९१ गुणा पुगेको छ। प्रतिसेयर आम्दानी न्यून हुँदा यी बैंकको पीई रेसियो उच्च देखिएको हो।

कृषि विकास बैंकको प्रतिसेयर आम्दानी ऋणात्मक रहेकाले पीई रेसियो पनि ५५.५९ गुणा ऋणात्मक रहेको छ। ऋणात्मक आम्दानी भएका बैंकको पीई अनुपातलाई सामान्य अवस्थामा जस्तै तुलना गरेर मूल्यांकन गर्न भने उपयुक्त हुँदैन।

खराब कर्जामा प्रभु बैंकको अवस्था कमजोर

बैंकहरूको सम्पत्ति गुणस्तर मापन गर्ने प्रमुख सूचक खराब कर्जा (एनपीएल) मा एभरेष्ट बैंक सबैभन्दा राम्रो अवस्थामा देखिएको छ। बैंकको खराब कर्जा अनुपात ०.५० प्रतिशत मात्रै रहेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.८३ प्रतिशत र सानिमा बैंकको २.८६ प्रतिशत रहेको छ। यसले यी बैंकको कर्जा असुली तथा सम्पत्ति गुणस्तर तुलनात्मक रूपमा राम्रो रहेको देखाउँछ।

तर, केही बैंकमा खराब कर्जाको अनुपात उच्च देखिएको छ। प्रभु बैंकको खराब कर्जा सबैभन्दा बढी १४.८० प्रतिशत पुगेको छ। एनआईसी एसिया बैंकको ९.८१ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.८७ प्रतिशत खराब कर्जा रहेको छ।

खराब कर्जाको उच्च अनुपातले बैंकहरूको आम्दानीमा प्रत्यक्ष दबाब सिर्जना गर्छ। कर्जा नोक्सानी व्यवस्थाका लागि बढी रकम छुट्याउनुपर्ने हुँदा नाफा घट्ने र त्यसको प्रभाव वितरणयोग्य नाफा तथा लाभांश क्षमतामा पर्ने गर्छ।

वित्तीय सूचकमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्डको बलियो उपस्थिति

पहिलो त्रैमासका पाँच प्रमुख वित्तीय सूचकको तुलनात्मक विश्लेषणले एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको अवस्था बलियो देखाएको छ। यी दुवै बैंकले प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा र खराब कर्जाको सूचकमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

एभरेष्ट बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा, वितरणयोग्य नाफा प्रतिसेयर २६ रुपैयाँ ८७ पैसा र खराब कर्जा ०.५० प्रतिशत रहेको छ। त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा, वितरणयोग्य नाफा प्रतिसेयर २२ रुपैयाँ १९ पैसा र खराब कर्जा १.८३ प्रतिशत रहेको छ।

यता, कुल नाफाका आधारमा नबिल र ग्लोबल आइएमई बैंक अगाडि देखिएका छन्। नबिल बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै, ग्लोबल आइएमई बैंकको पीई रेसियो १०.८८ गुणा रहेकाले आम्दानीको तुलनामा यसको बजार मूल्यांकन तुलनात्मक रूपमा न्यून देखिएको छ।

अर्कोतर्फ, प्रभु र एनआईसी एसिया बैंकमा खराब कर्जाको उच्च दबाब देखिएको छ। प्रभु बैंकको खराब कर्जा १४.८० प्रतिशत र एनआईसी एसिया बैंकको ९.८१ प्रतिशत छ। यी बैंकको वितरणयोग्य नाफा प्रतिसेयर क्रमशः २८ रुपैयाँ ८३ पैसा र १०३ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया