Siddartha Bank
Prabhu Mahalaxmi

हिमालयन लाइफको जीवन बीमा कोष ९३ अर्ब नाघ्यो, कुल सम्पत्ती एक खर्ब ५ अर्ब पुग्यो, हरेक सूचकमा सुधार

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 16 18:34
हिमालयन लाइफको जीवन बीमा कोष ९३ अर्ब नाघ्यो, कुल सम्पत्ती एक खर्ब ५ अर्ब पुग्यो, हरेक सूचकमा सुधार
United Ajod

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २२.५० प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Siddartha Bank
EBL
Nepal Life

कम्पनीको आम्दानीमा सुधार भए पनि खर्चको वृद्धिदर बढी हुँदा नाफामा गिरावट आएको देखिन्छ। गत वर्षको पहिलो त्रैमासमा ६ अर्ब २ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५२ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो ८.२५ प्रतिशतको वृद्धि हो।

तर, सोही अवधिमा कम्पनीको कुल खर्च ९.८६ प्रतिशतले बढेको छ। गत वर्ष ५ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६ अर्ब ४१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। आम्दानीभन्दा खर्चको वृद्धिदर बढी हुँदा कम्पनीको खुद नाफामा दबाब परेको हो।

यता कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १६.४२ प्रतिशत बढी हो।

जीवन बीमा कोष ९३ अर्ब नाघ्यो

कम्पनीको जीवन बीमा कोष १६.११ प्रतिशतले बढेर ९३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ८० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा कोषमा करिब १२ अर्ब ९४ करोड रुपैयाँ थपिएको छ।

त्यस्तै, कम्पनीको कुल बीमालेख संख्या ४ लाख ३७ हजार ६८० पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४ लाख २१ हजार ४६५ थियो। यसअनुसार बीमालेख संख्या ३.८५ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० हजार ३६२ नयाँ बीमालेख जारी गरेको छ। गत वर्षको सोही अवधिमा १० हजार २०८ बीमालेख जारी भएका थिए। यसले नयाँ बीमालेख जारी गर्ने संख्या १.५१ प्रतिशतले बढेको देखाउँछ।

कम्पनीको प्रथम बीमाशुल्क आर्जन ६९ करोड ४३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आर्जन ५४ करोड ९९ लाख रुपैयाँ थियो। यसमा २६.२४ प्रतिशतको वृद्धि भएको छ। एकल बीमाशुल्क भने ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ४ करोड ९७ लाख रुपैयाँको तुलनामा उल्लेख्य बढी हो।

त्यस्तै, नवीकरण बीमाशुल्क आर्जन ४ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। यसमा १४.६९ प्रतिशतको वृद्धि भएको छ।

लगानी ८७ अर्बभन्दा बढी

कम्पनीको लगानीको लागत मूल्य ८७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो लगानी ७९ अर्ब २१ करोड ३६ लाख रुपैयाँ थियो। यसमा १०.४३ प्रतिशतको वृद्धि भएको छ।

दीर्घकालीन लगानी भने गत वर्षको ६१ अर्ब २९ करोड ७८ लाख रुपैयाँबाट घटेर ५२ अर्ब ४२ करोड ४७ लाख रुपैयाँ कायम भएको छ। यसको विपरीत अल्पकालीन लगानी १७ अर्ब ७२ करोड ९८ लाख रुपैयाँबाट बढेर ३२ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बीमितलाई प्रदान गरिएको कर्जा ८ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८ अर्ब १७ करोड २९ लाख रुपैयाँ थियो।

दाबी भुक्तानी बढ्यो

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ हजार ९३५ वटा बीमालेखको दाबी तथा सुविधा भुक्तानी गरेको छ। गत वर्षको सोही अवधिमा ५ हजार २८४ वटा दाबी भुक्तानी भएका थिए। यसअनुसार दाबी भुक्तानी संख्या ३१.२४ प्रतिशतले बढेको छ।

यद्यपि, भुक्तानी हुन बाँकी कुल दाबी संख्या २१२ रहेको छ। गत वर्ष यस्तो संख्या २३२ थियो। त्यस्तै, कुल दाबी भुक्तानी गर्न बाँकी रकम १८ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १९ करोड ८५ लाख रुपैयाँ थियो।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि बीमितलाई ३० देखि ८६ रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ। अघिल्लो वर्ष यस्तो बोनस दर १८ देखि ८६ रुपैयाँसम्म थियो। अन्तरिम बोनस दर पनि ३० देखि ८६ रुपैयाँ कायम गरिएको छ।

कम्पनीको अवधि बीमालेखको अकमाएको बीमाशुल्क व्यवस्था (Unearned Premium Reserve) १८ करोड ६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १४ करोड २८ लाख रुपैयाँ थियो।

कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्षको ५ रुपैयाँ ५९ पैसाबाट घटेर ४ रुपैयाँ ३३ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ९१ पैसा रहेको छ।

कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात आर्थिक वर्ष २०८१/८२ मा १.३२ रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ३.८६ थियो।

समग्रमा हिमालयन लाइफको बीमाशुल्क आर्जन, बीमालेख संख्या, जीवन बीमा कोष तथा लगानीको लागत मूल्यमा वृद्धि देखिएको छ। तर, कुल खर्च आम्दानीभन्दा बढी दरले बढ्नु र लगानी तथा कर्जाबाट हुने आम्दानी ८.८७ प्रतिशतले घटेर १ अर्ब २२ करोड ११ लाख रुपैयाँमा सीमित हुनुले कम्पनीको नाफामा दबाब सिर्जना गरेको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया