Siddartha Bank
Prabhu Mahalaxmi

निर्जीवन बीमा कम्पनीको घाटा सवा अर्ब, विपत्तिको दबाबबीच वित्तीय अवस्थामा सुधार

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 16 21:25
निर्जीवन बीमा कम्पनीको घाटा सवा अर्ब, विपत्तिको दबाबबीच वित्तीय अवस्थामा सुधार
United Ajod

काठमाडौं । जेनजी आन्दोलनबाट उत्पन्न चुनौती र त्यसपछि गएको बाढीका कारण थपिएको आर्थिक भारबीच निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थामा केही सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा गत वर्षको सोही अवधिको तुलनामा घटेको छ। यद्यपि, समग्र निर्जीवन बीमा क्षेत्र अझै घाटामै रहेको छ।

Siddartha Bank
EBL
Nepal Life

कम्पनीहरूले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा १ अर्ब २७ करोड ४६ लाख ६६ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीहरूको समग्र खुद घाटा २६.६५ प्रतिशतले घटेको छ।

कम्पनीगत वित्तीय अवस्था हेर्दा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष नोक्सानीबाट नाफामा फर्किएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको असोजसम्म ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष नाफा ५.८० प्रतिशतले बढाएको हो।

शिखर इन्स्योरेन्स पनि नोक्सानीबाट नाफामा फर्किएको छ। गत वर्षको पहिलो त्रैमासमा १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

यसैगरी, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यी दुवै कम्पनी गत वर्षको सोही अवधिमा घाटामा थिए। एनएलजी इन्स्योरेन्स गत वर्ष १० करोड १० लाख ५२ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स २० करोड ७६ लाख १ हजार रुपैयाँ घाटामा थियो।

तर, नेशनल इन्स्योरेन्सको नाफामा भने उल्लेख्य गिरावट आएको छ। गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ।

आठ कम्पनी अझै घाटामा

समग्र क्षेत्रको घाटा घटे पनि १४ मध्ये आठ कम्पनीको खुद नाफा ऋणात्मक रहेको छ। तीमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय अवस्था सबैभन्दा कमजोर देखिएको छ। गत वर्षको असोजसम्म १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोड ११ लाख ६४ हजार रुपैयाँ घाटामा पुगेको छ।

त्यस्तै, द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ। सानिमा जिआईसी इन्स्योरेन्सको खुद घाटा २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको घाटा २० करोड २ लाख ३ हजार रुपैयाँ थियो। यसअनुसार सानिमा जिआईसीको घाटा थप बढेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख ३२ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २ हजार रुपैयाँ घाटामा छन्। गत वर्षको सोही अवधिमा सगरमाथा लुम्बिनीको घाटा २६ करोड ७३ लाख ७२ हजार र नेपाल इन्स्योरेन्सको ९ करोड ६३ लाख ७८ हजार रुपैयाँ थियो।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ घाटामा रहेका छन्।

गत वर्षको तुलनामा केही कम्पनीले नोक्सानी घटाएका छन् भने केही कम्पनी नाफामा फर्किएका छन्। तर, हिमालयन एभरेष्ट, सानिमा जिआईसी र नेपाल इन्स्योरेन्सको घाटा बढेको छ। यसले निर्जीवन बीमा क्षेत्रमा सुधारको संकेत देखिए पनि कम्पनीहरूबीच वित्तीय प्रदर्शनमा ठूलो अन्तर रहेको देखाउँछ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया