कर्णाली डेभलपमेन्ट बैंकको पुनर्संरचना रणनीति पारित, चुक्तापुँजी ५ अर्ब पुर्याइने
- BFIS News
- 2026 Nov 28 12:47
काठमाडौं, मंसिर १२ गते । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनयोग्य र सबल बनाउने उद्देश्यसहित नयाँ पुनर्संरचना रणनीति अघि बढाएको छ । राष्ट्र बैंक सञ्चालक समितिले बैंकको पुनर्संरचना तथा पुनर्पुँजीकरणसम्बन्धी ‘रिजोलुसन रणनीति, २०८३’ पारित गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ रणनीतिअनुसार बैंकमा आर्थिक अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको सेयर स्वामित्व घटाउने, नयाँ स्वदेशी तथा विदेशी लगानीकर्ता भित्र्याउने र बैंकको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउने योजना अघि सारिएको छ ।
रणनीतिअनुसार अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई एक प्रतिशतमा सीमित गरिएको छ । यसअघि बैंकको अधिकृत पुँजी ६० करोड रुपैयाँ तथा जारी र चुक्तापुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
सम्बन्धित व्यक्तिहरूको सेयर स्वामित्व घटाएपछि बैंकको कायम हुने चुक्तापुँजी २९ करोड १ लाख ४ हजार १६० रुपैयाँ रहनेछ । राष्ट्र बैंकले यस कदममार्फत बैंकमा अनियमितता तथा आर्थिक अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्व र प्रभाव न्यून गर्दै भविष्यमा पनि उनीहरूले त्यस्ता गतिविधिबाट अनुचित लाभ लिन नसक्ने अवस्था सिर्जना गर्न खोजेको प्रवक्ता पौडेलले बताए ।
त्यस्तै, अपचलनमा संलग्न नभएका विद्यमान संस्थापक सेयरधनीलाई थप लगानीको अवसर प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१) को खण्ड (ख) बमोजिम यस्तो व्यवस्था गरिएको हो ।
बैंकको पुँजी आधार बलियो बनाउन अधिकृत पुँजीमा ४ अर्ब ४० करोड रुपैयाँ थप गरी ५ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरिएको छ । पुनर्पुँजीकरण तथा पुनर्संरचनापछि कायम हुने कुल पुँजीको ६० प्रतिशत संस्थापक सेयर कायम गर्ने लक्ष्य राखिएको छ । यसका लागि करिब २ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर नयाँ स्वदेशी लगानीकर्तामार्फत परिचालन गरिनेछ ।
स्वदेशी लगानीकर्ताबाट आवश्यक पुँजी जुटाउन नसकिएको अवस्थामा विदेशी लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिने राष्ट्र बैंकको रणनीतिमा उल्लेख छ । यससँगै समस्याग्रस्त बैंकमा विदेशी लगानी भित्र्याउने बाटोसमेत खुला हुनेछ ।
राष्ट्र बैंकले निक्षेपकर्तालाई समेत बैंकको पुनर्पुँजीकरण प्रक्रियामा सहभागी गराउने व्यवस्था गरेको छ । ५ लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्ताले आफ्नो निक्षेपको अधिकतम ५० प्रतिशतसम्म रकम बराबरको संस्थापक सेयरमा स्वेच्छिक लगानी गर्न पाउनेछन् । यसका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ ।
निक्षेपकर्ताले यसरी खरिद गरेको संस्थापक सेयरलाई प्रचलित कानुनबमोजिम सर्वसाधारण सेयर समूहमा परिणत गर्न सक्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी, पुनर्पुँजीकरणका क्रममा निर्धारित ५ अर्ब रुपैयाँको लक्षित चुक्तापुँजी अपुग भएमा बाँकी रकम सर्वसाधारण समूहको सेयर जारी गरेर जुटाइनेछ ।
बैंकको वित्तीय अवस्था सुधार गर्दै संस्थागत सुशासन कायम गर्ने तथा सर्वसाधारणको निक्षेप र हित संरक्षण गर्ने उद्देश्यले पुनर्संरचना रणनीति ल्याइएको प्रवक्ता पौडेलले बताए । बैंकलाई पुनः जीवन्त, सबल र सुशासित संस्थाका रूपमा स्थापित गरी सर्वसाधारणको विश्वास पुनः कायम गर्नु यसको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
राष्ट्र बैंकको यो रणनीतिले कर्णाली डेभलपमेन्ट बैंकमा विगतमा अनियमितता र आर्थिक अपचलनमा संलग्न व्यक्तिहरूको प्रभाव घटाउने, नयाँ लगानीकर्तालाई प्रवेश गराउने तथा निक्षेपकर्तालाई समेत बैंकको पुँजी निर्माणमा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया