पुष्प–चन्द्र ट्रष्टद्वारा काजीमान हरिटिका माविका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
- BFIS News
- 2026 Nov 29 07:04
स्याङ्जा, मंसिर १२। पुष्प–चन्द्र ट्रष्टले संस्थापक स्वर्गीय चन्द्र लक्ष्मी श्रेष्ठको ७७औँ जन्मजयन्तीको अवसरमा काजीमान हरिटिका माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।
ट्रष्टले सञ्चालन गर्दै आएको विद्यार्थी शैक्षिक सहायता कार्यक्रम (एसएसपी २०८३) अन्तर्गत विद्यार्थीको शैक्षिक निरन्तरतामा सहयोग पुर्याउने, शिक्षाप्रतिको रुचि अभिवृद्धि गर्ने र उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सामग्री वितरण गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा गुरुङको अध्यक्षता तथा ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ट्रष्टका सचिव ऋषिराम शर्मा, ट्रष्ट परिवारका तर्फबाट अनन्तमान श्रेष्ठ, विद्यालयका पूर्वप्रधानाध्यापक ओमप्रकाश शर्मा, त्रिभुवन आदर्श माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले स्वर्गीय पुष्पमान श्रेष्ठ र चन्द्र लक्ष्मी श्रेष्ठको सामाजिक योगदान, सेवाभाव र प्रेरणादायी जीवनको स्मरण गर्दै उनीहरूले देखाएको मार्गलाई निरन्तरता दिनुपर्ने बताए। समाजका विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको शिक्षा र उज्ज्वल भविष्यका लागि ट्रष्टले सञ्चालन गरेको अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए।
विद्यार्थीका सिर्जनात्मक तथा सांस्कृतिक प्रस्तुति
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले स्वागत मन्तव्य, नृत्य, कविता वाचनलगायत सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थी ओजस्वी सिग्देलले अंग्रेजी र युनिका भुजेलले नेपाली भाषामा स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्। शिक्षक मुक्तिराम रेग्मीले शिक्षकका तर्फबाट स्वागत मन्तव्य राखेका थिए।
विद्यार्थी सुवाना केसी र सुस्मा भण्डारीले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, योगेन्द्रमान श्रेष्ठद्वारा रचित ‘बा ले दिउँसै बत्ती बाल्थे रे’ शीर्षकको कविता प्रशंसा आचार्य र ‘आमाको सम्झना’ कविता कृतिका बुढा मगरले वाचन गरेका थिए।
विद्यार्थीका सिर्जनात्मक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा सक्रिय सहभागिता जनाउने विद्यार्थीलाई प्रमुख अतिथिलगायत अन्य अतिथिले नगद पुरस्कार प्रदान गरेका थिए।
यसैगरी, बाडखोलाबाट आएको भाइटारी बाजा समूहले बाजागाजासहित विद्यालय पुगेर अतिथिहरूको स्वागत गरेको थियो। बाजाको प्रस्तुतिमा विद्यार्थीहरू नाच्दै रमाएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पोतप्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेका थिए भने रीता शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन्। समापन मन्तव्य राख्दै सभाध्यक्ष चिजा गुरुङले ट्रष्टले विद्यालय र विद्यार्थीको हितमा गर्दै आएको सहयोग सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे।
सात वर्षदेखि विद्यार्थी सहायता कार्यक्रम सञ्चालन
पुष्प–चन्द्र ट्रष्टले विगत सात वर्षदेखि निरन्तर विद्यार्थी सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष मंसिर महिनाभित्र ५०० जना बालबालिकाको मुहारमा खुशी ल्याउने लक्ष्यसहित अभियान अघि बढाइएको ट्रष्टले जनाएको छ।
यसअघि सरस्वती माध्यमिक विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकिएको छ। सोही अभियानअन्तर्गत काजीमान हरिटिका माध्यमिक विद्यालयमा पनि शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो।
ट्रष्टले बालबालिकाको शिक्षा, खुशी र अवसरमा गरिने लगानीलाई सामाजिक सम्पत्ति निर्माणको अभियानका रूपमा लिएको छ। सानो सहयोगले पनि विद्यार्थीमा ठूलो प्रेरणा जगाउन, शिक्षाप्रतिको रुचि बढाउन र आर्थिक अभावका कारण पढाइमा आउन सक्ने अवरोध हटाउन सहयोग पुग्ने ट्रष्टको विश्वास छ।
आफ्ना सन्तानले प्राप्त गरेका अवसर र सुविधाको केही अंश अन्य बालबालिकासँग बाँड्दै सेवा, सद्भाव र परोपकारको संस्कार विकास गर्नु पनि यस अभियानको उद्देश्य रहेको ट्रष्टले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी, भाइटारी बाजा समूह, समाजका अग्रज, अतिथि तथा शुभेच्छुकप्रति ट्रष्टले आभार व्यक्त गरेको छ।
शिक्षा, बालबालिकाको खुशी र सामाजिक सद्भावका माध्यमबाट समतामूलक तथा सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यसहित आफ्नो सेवायात्रालाई निरन्तरता दिने प्रतिबद्धता पनि ट्रष्टले व्यक्त गरेको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया