Nepal Life

सम्पुर्ण लघुवित्तलाई एनएफआरएस अनिवार्य, शेयरधनीका एकाघरका कर्मचारीको पुनः नियुक्ति समेत नहुने

NMB Bank
  • BFIS News
  • 2025 Jan 07 20:42
सम्पुर्ण लघुवित्तलाई एनएफआरएस अनिवार्य, शेयरधनीका एकाघरका कर्मचारीको पुनः नियुक्ति समेत नहुने
United Ajod

काठमाडौं, पुस २३ गते : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ ।

Shikhar
Nepal Life
NIMB

केन्द्रीय बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा थप गर्दै अबदेखि लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय विवरण तयार गर्दा एनएफआरएस अनुसार गर्नुपर्ने व्यवस्था गरेको हो । साथै, नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (आइएफआरएस) लाई आधारको रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, केन्द्रीय बैंकले संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति-पुनर्नियुक्ति हुन योग्य नहुने व्यवस्था गरेको छ । 

साथै, चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति- पुनर्नियुक्ति हुन योग्य हुने छैन । यो निर्देशन जारी हुँदाका बखत कुनै व्यक्ति संस्थाको कार्यकारी प्रमुख पदमा बहाल रहेको भए विद्यमान कार्यकालको बाँकी अवधि पुरा गर्न भने यो निर्देशनले बाधा पुगेको नमानिने राष्ट्र बैंकको भनाई छ । 

यस्तै, लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । तर, नेपाल राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेशनल बैंकिङ इन्सटिच्युट, नेपाल क्लियरिङ्ग हाउस, कर्जा सूचना केन्द्र लगायतका संस्थाहरुमा र नेपाल फिनसफ्ट कम्पनीमा लघुवित्तले पनि सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ । 

यी संस्थाबाहेकका संस्थाहरुको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजी कोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसैगरी, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछ । 

तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने-गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न बाधा नपुग्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया