NIMB Header 2
Nepal Life

नेपाल बीमा प्राधिकरणले ‘बीमा प्रतिबिम्ब’ मासिक तथ्यांक संस्करण प्रकाशन शुरू गर्यो

Citizen Life
  • BFIS News
  • 2025 May 24 14:57
नेपाल बीमा प्राधिकरणले ‘बीमा प्रतिबिम्ब’ मासिक तथ्यांक संस्करण प्रकाशन शुरू गर्यो
National Life

काठमाडौं, जेठ १०।  नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका प्रमुख सूचकहरू समेटिएको विश्लेषणात्मक मासिक तथ्यांक संस्करण ‘बीमा प्रतिबिम्ब’ प्रकाशन गर्न थालेको छ।

NIMB

बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी तथा फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायतका विषयमा आधारित रहेर तयार गरिएको यो तथ्यांक संस्करण नियमित रूपमा प्रत्येक महिना सार्वजनिक गरिने प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अध्यक्ष शरद ओझाका अनुसार बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता र नीतिनिर्माणका लागि आधार तयार गर्ने उद्देश्यले ‘बीमा प्रतिबिम्ब’ प्रकाशन सुरु गरिएको हो। “यसले बीमक, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा आम नागरिकहरूलाई बीमा क्षेत्रको समग्र अवस्थाबारे जानकारी लिन मद्दत पुग्नेछ,” अध्यक्ष ओझाले बताए।

उनले थपे, “नियमित विश्लेषणात्मक प्रकाशनमार्फत बीमा क्षेत्रको प्रगति, चुनौती र नीतिगत आवश्यकताहरू पहिचान गर्न सहज हुनेछ।”

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक समेटिएको पहिलो संस्करणमा सो अवधिमा जारी भएका बीमालेखको संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा तथा कर्मचारी संख्या, लगानी अवस्था, कूल बीमालेख संख्या र सोल्भेन्सी अनुपात लगायतका विवरण समावेश गरिएको छ।

त्यस्तै, नेपाल बीमा प्राधिकरणबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सम्पादन गरिएका प्रमुख कामकारवाहीहरू समेत प्रकाशनमा समावेश छन्। जसमा नियामकीय काम, दाबी उजुरी दर्ता र फछ्र्यौट, बीमकहरूको स्थलगत निरीक्षण, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पहल, बीमालेख स्वीकृति जस्ता विषयहरू विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएको छ।

प्राधिकरणले ‘बीमा प्रतिबिम्ब’ प्रकाशनलाई बीमा क्षेत्रको नियमित अभिलेखीकरण र सुधारका लागि महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया