जीवन बीमा बचत मात्र नभई कर छुटको उत्तम विकल्प पनि
- BFIS News
- 2025 Jun Tue 15:29

काठमाडौं। हरि आफ्नो श्रीमति र दुई सन्तान सहित एउटा कार्यालयमा काम गरेर जीवन चलाउँदै आएका व्यक्ति हुन् । उनलाई कार्यालयले मासिक रुपमा ६० हजार रुपैयाँ पारिश्रमिक दिँदै आएको छ । सो पारिश्रमिकबाट घर खर्च, स्वास्थ्य उपचार, शिक्षा, लत्ता कपडा, कोठा भाडा लगायत सबै किसिमका खर्च हरिले धान्दै आउनुपरेको छ । उनलाई खर्च व्यवस्थापन निकै धौधौ परिरहेको छ । उनले एकातिर वार्षिक आयमा आयकरको बोझ पनि उठाइ रहनुपरेको छ भने अर्कातिर आम्दानी र खर्चको सही व्यवस्थापन पनि गर्न सकिरहेका छैनन् ।
यस्तो अवस्थामालाई सहज बनाउन कुनै विकल्प नदेख्दा हरि हैरान हुन्छन् । तर एकदिन उनलाई साथीले जीबन बीमा गर्न सुझाउँछन् । जीवन बीमाका फाइदाबारे बताउँदै गर्दा साथीले हरिलाई आयकर छुटको पनि कथा सुनाउन भ्याउँछन् ।
सरकारले नागरिकहरूलाई जीवन बीमातर्फ आकर्षण गर्दै बचत र सुरक्षामा सहजता सिर्जना गराउनका लागि आयकरमा छुटको सुविधा दिँदै आएको छ । हाल जीवन बीमा गर्ने व्यक्तिलाई सरकारले करयोग्य आयमा बीमा वापत तिरेको प्रिमियममा अधिकतम ४० हजार रुपैयाँ छुट दिँदै आएको छ ।
साथीमार्फत यो कुरा हरिले थाहा पाएपछि मात्रै हरिले जीवन बीमा गर्दा एकातिर बचत हुने र अर्कातिर आयकर छुटको लाभ पनि लिन पाउनेबारे बुझ्छन् । अब मात्रै हरिले जीवन बीमाको योजना बनाउनेबारे सोच्छन् ।
हरिले मासिक ६० हजार रुपैयाँका दरले वार्षिक ७ लाख २० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । आफ्नो भविष्य र परिवारको सुरक्षाप्रति चिन्तित भइरहने हरिले जीवन बीमा र करछुट बारे जानकारी पाउने बित्तिकै आफ्नो आम्दानी अनुसार जीवन बीमा गराए । जीवन बीमामार्फत उनको बचत, भविष्य, परिवारको आर्थिक सुरक्षा त सुनिश्चित भइ नै हाल्यो । यससँगै उनको वार्षिक आम्दानी ७ लाख २० हजारमा जीवन बीमा गरेबापत ४० हजार रुपैयाँ आयकर छुट पाउने भए । यसअनुसार उनले अब ६ लाख ८० हजार रुपैयाँको मात्रै आयकर तिर्नुपर्ने भयो । ४० हजार रुपैयाँ उनको जीवन बीमा गरेबापत बच्न पुग्यो ।
यसरी हरिले जीवन बीमा गराएर आफ्नो करयोग्य आम्दानी घटाए । यदि उनले जीवन बीमा नगरेका भए त उनको पूरै ७ लाख २० हजारमा कर तिर्नुपर्दथ्यो । यसले हरिलाई आर्थिक रूपमा राहत त दियो नै, साथै परिवारको आर्थिक सुरक्षाको सुनिश्चितता पनि दियो । चाहे भविष्यको सुरक्षाको कुरा होस् या आजको कर छुटको—जीवन बीमा हरिका लागि दुबै हिसाबले लाभदायक साबित भयो ।
हरिले जस्तै हामीले पनि जीवन बीमा गराउँदा केवल बचत व सुरक्षा मात्र हुँदैन यसले राज्यले दिने विभिन्न किसिमका छुट समेत उपयोग गर्ने अवसर सिर्जना हुन्छ । जसबाट आर्थिक भार बढ्न पाउँदैन ।
सरकारले बीमाप्रति आकर्षित गर्नका लागि सरकारी, अर्ध सरकारी, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न क्षेत्र र तहमा काम गर्ने कर्मचारीका लागि आयकरमा छुटको व्यवस्था गर्दै आएको छ । यसले नागरिकलाई जीवन बीमा ससाना खर्च कटौती गर्दै गर्न सकिने भएकाले बचतको बानी पनि पर्दै जान्छ भने अर्कातिर सुरक्षाका साथसाथै कर छुटको पनि लाभ लिन सकिने अवस्था सिर्जना हुन्छ ।
जीवन बीमा बचतको एक उपयुक्त माध्यम त हुँदै हो । यससँगै कर छुटका लागि पनि निकै उपयोगी रहेको हरिको कथाले स्पष्ट पार्दछ । मानिसको जीवन अनिश्चित छ । दुर्घटना, दीर्घरोग वा अकाल मृत्यु जस्ता घटनाले परिवारको आर्थिक स्थिति बिथोल्ने मात्र नभई ध्वस्त नै पार्न सक्छ । मध्यम वर्गीय परिवारमा आम्दानीको मूल स्रोत प्रायः एक जना व्यक्तिमाथि नै निर्भर हुने भएकाले त्यो व्यक्तिलाई भवितव्य केही भइहालेमा परिवार नै गम्भीर आर्थिक सङ्कटमा पर्न सक्छ । त्यस्तो अवस्थामा सहजता सिर्जना गर्ने एक मात्र माध्यम जीवन बीमा हो ।
जीवन बीमा केवल बचत होइन परिवारलाई आर्थिक साहारा हो । जीवन बीमाकै माध्यमबाट परिवारले बाँच्न सक्ने, उच्च शिक्षा अध्ययन गर्न सक्ने र आर्थिक अवस्था सुधार्ने अवसर पाउन सक्छन् । मध्यम वर्गीय परिवारमा आम्दानी सीमित हुन्छ, भने जिम्मेवारी निके धेरै हुन्छ । यस्तो अवस्थामा जीवन बीमा सबैभन्दा सजिलो, सुरक्षित र लाभदायक उपाय समेत हो ।
आयकर छुटका साथसाथै जीवन बीमाबाट अन्य विभिन्न लाभ पाउन सकिन्छ । जीवन बीमा आफ्नो जीवनमाथि आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्नका लागि मुख्य विकल्प हो । प्रायः मध्यम किसिमको आर्थिक अवस्था भएका परिवारमा आर्थिक सुनिश्चितता पाइरहनका लागि जीवन बीमा निकै महत्वपूर्ण छ ।
जीवन बीमा गरेको केही समयपछि आवश्यक पर्दा कर्जा समेत लिन सक्ने सुविधा रहेको हुन्छ । बिना धितो लिन सकिने त्यस्तो कर्जा सहुलियत ब्याजदरको रहन्छ । त्यसले अर्को किसिमको सहजता समेत सिर्जना गरिदिन्छ ।
त्यसैले जीवन बीमा बचत, सुरक्षा र कर छुट प्राप्तिको समीश्रण हो । जुन मध्यम स्तरका आम्दानी भएका व्यक्तिहरूलाई अपरिहार्य हुन्छ ।
प्रतिक्रिया