संस्थागत सुधार र सेवा विस्तारमार्फत अग्रणी कम्पनी बन्ने यात्रामा छौं: मनोज लाल कर्ण
- BFIS News
- 2025 Jun 26 14:17
काठमाडौं, असार १२ गते। साविक प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड नेपालमा जीवन बीमा क्षेत्रको एक अग्रणी कम्पनीको रूपमा स्थापित भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले हालै सम्पन्न १८ औं वार्षिक साधारणसभामा आफ्नो मन्तव्य प्रस्तुत गर्दै हिमालयन लाइफ जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनी बन्ने दृढताका लागि अगाडी बढेको बताएका छन्।
उनले भने, “कम्पनीलाई आगामी दिनमा पनि अग्रणी जीवन बीमा कम्पनीको रूपमा अघि बढाउन हामी निरन्तर प्रयत्नशील छौं।” संस्थागत क्षमता अभिवृद्धि, स्रोत तथा मानव संसाधनको उचित प्रयोग, व्यवसाय विकास र नीति निर्माणका पक्षमा कम्पनी सक्रिय रहेको उनले बताए।

व्यवसाय विस्तारमै सफलता
सीईओ कर्णका अनुसार व्यवसाय प्रवर्धन र विस्तार बिना मुनाफा वृद्धिको सम्भावना छैन। यसैले व्यवसाय वृद्धिका लागि कम्पनीले योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ। अनावश्यक खर्च घटाउने, स्रोत साधनको मितव्ययी प्रयोग गर्ने जस्ता उपायमा कम्पनीले उच्च प्राथमिकता दिएको छ।

सेवा सुविधा परिस्कृत गर्दै
“जीवन बीमा व्यवसाय विश्वासमा आधारित हुन्छ,” कर्णले भने, “त्यसैले नागरिकको विश्वास जित्न हामी सेवाहरूलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउँदैछौं।” दावी भुक्तानीलाई प्राथमिकता दिने, अभिकर्ताहरूलाई समयमा सेवा उपलब्ध गराउने कार्यमा कम्पनी कटिबद्ध रहेको उनले स्पष्ट पारे।

शाखा संख्या घटाउने तयारी
हाल कम्पनीको २०९ वटा शाखा तथा उपशाखा कार्यालयहरू रहेका छन्। कर्णका अनुसार, संचालक समितिको निर्देशानुसार शाखाहरूको संख्या आवश्यकतानुसार घटाउने प्रक्रिया सुरु भइसकेको छ। यसबाट सेवा अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। तीन वटा कम्पनी मर्जरमा जादा एकै स्थानमा दुई तीन वटासम्म शाखा दोहोरिएकाले पनि संख्या घटाउनु परेको कम्पनीले जनाएको छ।

वित्तीय स्थायित्वमा विश्वास
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले कुल रु. १६ अर्ब ६० करोड बीमा शुल्क संकलन गरेको छ। बैशाख २०८२ मसान्तसम्ममा कम्पनीको कुल लगानी ७७ अर्ब ५५ करोड भन्दा बढी रहेको छ भने जीवन बीमा कोषमा ७३ अर्ब ७७ करोड भन्दा बढी रकम सञ्चित छ। कम्पनीको नेटवर्थ १० अर्ब ३६ करोड पुगेको विवरण सीईओ कर्णले सार्वजनिक गरे।

पेशागत तालिममा जोड
कर्मचारीहरूको व्यवसायिक दक्षता अभिवृद्धिका लागि नियमित तालिमको व्यवस्था गरिएको छ। स्वदेश र विदेशका तालिममा कर्मचारी तथा अभिकर्ताहरूलाई सहभागी गराउने र अन्तर्राष्ट्रिय स्तरका तालिमहरू भविष्यमा उपलब्ध गराउने योजना रहेको उनले बताए।

सीईओ कर्णले कम्पनीको सफलता सबैको सहकार्य र साझा प्रतिबद्धताको फल भएको स्पष्ट गर्दै शेयरधनी, कर्मचारी तथा अभिकर्ताहरूसँग निरन्तर सुझाव र साथको अपेक्षा गरे। उनले भने, “यदि हामी लक्ष्यअनुसार व्यवसाय गर्न सफल भयौं भने त्यसको प्रतिफल सबैले समान रूपमा प्राप्त गर्नेछौं।”

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)






प्रतिक्रिया