NIMB Header 2
Nepal Life

कर्मलाल योञ्जनको अध्यात्मदेखि नेपाल लाइफको कर्मचारी युनियन अध्यक्षसम्मको यात्राः शालिन जीवन र संघर्षको कथा

Citizen Life
  • BFIS News
  • 2025 Jul 01 13:06
कर्मलाल योञ्जनको अध्यात्मदेखि नेपाल लाइफको कर्मचारी युनियन अध्यक्षसम्मको यात्राः शालिन जीवन र संघर्षको कथा
National Life

काठमाडौं। सिन्धुपाल्चोकमा जन्मिएका कर्मलाल योञ्जनको जीवन अध्यात्म, श्रम र सेवा भावनाको गहिरो संगम हो। सानै उमेरदेखि अध्यात्मिक तथा लामा संस्कृतिप्रति गहिरो रुचि राख्ने कर्मलालका पिता स्वयं लामा पण्डित हुन्। सात दाजुभाइमध्ये छैठा सन्तानका रूपमा जन्मिएका उनले गुम्बाबाट सुरु भएको आफ्नो जीवन यात्रालाई नेपाल लाइफको कर्मचारी युनियन अध्यक्षसम्म पुर्याएका छन्।

NIMB

शिक्षा र बौद्ध मार्गको यात्रा

गुम्बाको अनुशासनमा हुर्कंदै गर्दा उनी कहिलेकाहीं औपचारिक शिक्षाबाट टाढा पनि रहनुपर्‍यो। कक्षा १० मा पढ्दापढ्दै दाइसँग काठमाडौं आएका उनले भक्तपुरको विज्जेश्वरी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। बौद्ध धर्मप्रति गहिरो झुकाव भएका उनले पछि औपचारिक शिक्षामा भने त्यति प्रगति गर्न सकेनन्। अर्को तर्फ बौद्ध शिक्षा अध्ययन गरेका उनका साथीहरू अहिले पीएचडी सम्मको अध्ययन गरिसकेका छन्। कहिले बौद्ध शिक्षा त कहिले स्कुल शिक्षाका कारण उनले आफ्नो शैक्षिक यात्रालाई अगाडी बढाउन नसकेको प्रति भने उनि खिन्न छन्।

गुरुको शिक्षालाई जीवनभर आत्मसात गर्दै उनले बौद्ध धर्मका मुल सिद्धान्त शुद्ध चित्त, राम्रो आचरण र सत्य बोलीलाई आफ्नो जीवनशैली बनाएका छन्। यही शिक्षाले उनलाई सधैं सकारात्मक मार्गमा अघि बढ्न प्रेरित गरेको उनी बताउँछन्।

गुम्बाबाट संघर्षशिल जीवन

गुम्बाबाट बाहिरिएपछि कर्मलालको संसार फेरियो। जीविकोपार्जनका लागि उनले थान्का चित्रकलाबाट गाडी चलाउनेसम्मका काम सिके। भक्तपुरस्थित दाइको थान्का उद्योगमा काम गर्दागर्दै त्याहाँको परिवेश उनलाई जेलमा थुनिएर काम गरेको जस्तो अनुभूति हुन थाले पछि थान्का चित्रकला छाडिदिए।

दाइकै सल्लाह बमोजिम उनले सोलार हाइड्रो प्रोजेक्टमा काम गर्न थाले। रोल्पाजस्तो द्धन्दग्रस्त क्षेत्रमा सोलार जडान गर्दै हिड्नु साहसिक कार्य थियो। उनले सोलार क्षेत्रमा अझ राम्रो सँग गर्न CTEVT बाट तालिम लिएर 'B' लेभलसम्मको प्रमाणपत्र समेत प्राप्त गरे।

रोल्पाजस्तो चुनौतीपूर्ण क्षेत्रमा घरघरमा सोलार जडान गर्ने, फारम भर्ने र फोटो खिच्ने काम गर्नु पर्थ्यो। तर माओवादी द्वन्द्वका कठिन दिनहरूमा त्यस्तो कार्य गर्दा जोखिम पनि धेरै थियो। अन्ततः उनी पुनः दाइकै थान्का उद्योगमा फर्किए।

स्थायी जागिरको जोखिमा नेपाल लाइफमा प्रवेश

विभिन्न पेशागत संघर्षपछि उनले २०६८ सालमा तत्कालीन सीईओ विवेक झाको सिफारिसमा नेपाल लाइफ इन्स्योरेन्समा रेकर्ड किपरको रूपमा काम सुरु गरे। उनले तीनकुने शाखाबाट सेवा प्रारम्भ गरी प्रधान कार्यालयको GSD विभागमा पुग्दा सम्म विभिन्न जिम्मेवारी सम्हाले। इमानदार र समर्पित स्वभावकै कारण उनी सबैको विश्वास जित्न सफल भए। जतिवेला उनि वैदेशिक रोजगारबाट प्रधान कार्यालय जिएसडीमा भित्रिए त्यतिवेला उनि प्रति कम्पनीले संका व्यक्त गर्दै विभिन्न परीक्षण पनि लियो। तर उनले सबैको संकालाई मेटाउदै राम्रो काम गरेर देखाइदिए। त्यसैले अहिलेसम्म पनि उनि यहि विभागमा काम गर्दै आइरहेका छन्। यति मात्रै होइन उनि एक्लैले अहिले जिएसडी तर्फबाट १८४ शाखालाई आवश्यक पर्ने सामान वितणको सम्पुर्ण काम  ह्याण्डल गरिरहेका छन्।  उनि हरेक दिन आफ्नो गुरुको त्यो बाणी सन्देशलाई मनन गर्छन् जसले इमान्दारिपुर्वक काम गर्न प्रेरित गर्दछ।

कर्मचारी युनियनमा प्रभावशाली नेतृत्व

कर्मलालको शालिनता, सत्यनिष्ठा र सहकर्मीप्रतिको सम्मानले उनलाई कर्मचारी युनियनको नेतृत्वतर्फ डोर्‍यायो। बौद्ध धर्म अनुसार पञ्चशिल, अष्टशिल, ३६ शिल र २५२ शिल मध्ये ३६ शिल पालना गरी बसेका योञ्जनले आफुलाई नैतिकवान बनाउन सफल भएका छन्। उनको यहि स्वभावका कारण साथिहरुले कर्मचारी युनियनमा बस्न अनुरोध गरे।

उनि पछिल्ला तीन कार्यसमितिमा रहेर काम गर्दै आइरहेका छन्। पहिलो कार्यसमितिमा सदस्य, दोस्रोमा केन्द्रिय उपाध्यक्ष र तेस्रो कार्यसमितिमा सर्वसम्मत अध्यक्ष बन्न सफल भए। उनले सबै जिल्लाका कर्मचारीको समर्थन पाएको अनुभव साट्दै भने, “मैले अध्यक्ष नहुने सोच बनाइसकेको थिएँ, तर सबैको आग्रहले बाध्य बनायो।”

उनि आफैले पनि कम्पनी भित्र एउटा पदको कर्मचारीले अर्को पदका कर्मचारीलाई हेप्ने नराम्रो व्यवहार गर्ने यदाकदा देखिरहेका थिए। उनि सबैभन्दा पहिला यस्तो व्यवहारलाई सच्याउन चाहन्थे। यतिकैमा उनले साथभाइहरुको मन जित्ने धेरै कामहरु गरे। परिणामस्वरुप उनको पदका लागि भोटिङ नै भएन तर उनि बाहेकका अन्य पदमा भने भोटिङ भयो।

व्यवस्थापन र कर्मचारीबीच समन्वय

वर्तमानमा उनी व्यवस्थापन र कर्मचारीबीचको सेतु बनेका छन्। उनले तलब वृद्धि, पदोन्नति, तालिम, तथा कर्मचारी विनियमावलीको कार्यान्वयनजस्ता मुद्दा व्यवस्थापनसमक्ष निरन्तर उठाइरहेका छन्। ‘कर्मचारीको विकास कम्पनीको विकास, अभिकर्ता खुसी त बजार सुनिश्चित हुन्छ; भन्ने दृढ विश्वास राख्ने उनी भन्छन्, “भोको गाइले दुध दिन सक्दैन त्यसैले कम्पनीको अहित नगरी कर्मचारीको अधिकार सुनिश्चित गराउन सकिन्छ। गाईलाई जति राम्रो दाना पानी मिलाएर लिन सक्यो त्यति नै धेरै दुध दिन सक्छ। त्यसैले कर्मचारी तथा अभिकर्ताहरु पनि भोकै भए भने संस्थाले सोचेअनुरुपको प्रतिफल प्राप्त गर्न सक्दैन।”

उनि भन्छन्, “मैले आन्दोलन गर्ने अधिकार पाउँछु, तर त्यसो गरेर कम्पनीलाई नोक्सान पुर्‍याउन चाहन्न। कम्पनी रहे मात्र हामी सबै रहन्छौं।” यसरी आजका दिनमा उनको काधमा कम्पनी र कर्मचारी साथिभाइ दुबै पक्षको हित हुने गरि काम गर्नु पर्ने अवस्था छ।

कम्पनी र कर्मचारीबीच ‘विन विन’ सम्बन्धको पक्षधर

कम्पनी र कर्मचारी दुवैलाई सन्तुलनमा राख्दै अगाडि बढ्नुपर्ने विश्वास राख्ने योञ्जन भन्छन्, “हामीले अधिकार माग्दा दायित्व पनि बिर्सनु हुँदैन। सबै तहका कर्मचारीले आफ्नो काम, जिम्मेवारी र भूमिका इमानदार रूपमा पूरा गर्नुपर्छ।” कर्मचारी र अभिकर्ता दुबैलाई समय सापेक्ष सेवा र सुविधामा कुनै पनि सम्झौता गर्नु हुँदैन। किनकी कम्पनीको मेरुदण्ड भनेको यि नै दुई खम्बा हुन्, उनले भने। 

उनि भन्छन् 'म स्वतन्त्र कर्मचारी भएर र कर्मचारी युनियनको अध्यक्ष भएर पनि कम्पनीको अहितमा काम गर्नु हुँदैन। यसो भन्दै गर्दा साथिभाइको पिर मर्का र उन्नती प्रगतिलाई रोक्न दिनु हुँदैन।' यति हुँदा हुँदै पनि कम्पनीले युनियनका मागहरुलाई वेवास्था गरेको प्रति भने उनको गुनासो छ। उनि भन्छन् 'मेरो सालिनतालाई उहाँहरुले कहि कतै कमजोरी पो ठान्नु भएको हो कि भन्ने पनि लाग्छ। तर मैले युनियनको अध्यक्षको तर्फबाट अलिकति मात्रै नराम्रो कदम अगाडी बढाए भने पनि राम्रो हुँदैन।'

संस्थागत सुधार र दीर्घकालीन दृष्टिकोण

कम्पनीको आन्तरिक विषय मिडियामा ल्याउनु भन्दा समाधानको बाटो भित्रै खोजिनुपर्छ भन्ने धारणा राख्ने कर्मलाल युनियन नेतृत्व गर्दा पनि सन्तुलन र सहमतिलाई प्राथमिकता दिन्छन्। उनी भन्छन्, “म अध्यक्ष हुँ, तर मेरो आवाज सम्पूर्ण ६५१ कर्मचारीको आवाज हो। म व्यवस्थापनसमक्ष उनीहरूको मर्म, पीडा र सुझाव पुर्‍याउने माध्यम हुँ।”

उनि आफ्नो कर्मथलोलाई शान्त बनाउन चाहन्छन्। साथै अन्य साथिहरुलाई पनि शान्तिपुर्वक काम गर्न अनुरोध गर्दछन्। यसमा कम्पनीले आफ्नो तर्फबाट गर्नु पर्ने काम गरिदिने वित्तीकै सबै कुराहरु समाधान हुने उनि बताउछन्।

यदि भित्र समस्या छ भने भित्र भित्रै मिलाउनु पर्छ उनि भन्छन् 'दुनियालाई मिडियाबाजी गर्नु हुँदैन। हामीले हाम्रो कर्मथलोलाई दुषित बनाउनु हुँदैन। हामीलाई पाल्ने नै यहि संस्थाले भएकाले बचाउनु पर्छ।'

उनले भने, “हामीले कर्मचारी विनियमावलीमै उल्लेखित व्यवस्था कार्यान्वयनको माग गरेका छौं। विनियमावलीमा नभएको कुरा हामीले कहिल्यै उठाएका छैनौं, हाम्रो माग नाजायज छैन, यो पूर्णतः समयअनुकूल छ।”

कर्मलालले कम्पनीको समग्र प्रगति र स्थायित्वका लागि कर्मचारीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे। “कर्मचारी र अभिकर्ता भनेको कम्पनीको मेरुदण्ड हुन्। यदि कर्मचारी र अभिकर्ता डिमोटिभेट भए भने राम्रो परिणाम निकाल्न सकिँदैन,” उनले भने। अभिकर्तालाई समेत मेरुदण्डकै रुपमा उल्लेख गर्दै उनले बीमा क्षेत्रको विकासमा दुवैको योगदान बराबरी रहेको बताए।

उनका अनुसार कम्पनी र कर्मचारी दुवै पक्षले आ–आफ्नो जिम्मेवारी बुझेर कार्य गरेमा संस्थाको समुन्नति सम्भव हुन्छ। व्यवस्थापनले कर्मचारीको कामको लोड, जिम्मेवारी र जोखिमको मूल्यांकन गरेर समयमै उचित सेवा–सुविधा प्रदान गर्नुपर्ने उनले बताए।

“समयअनुसार तालिम, सीप विकास र प्रविधिको ज्ञान नदिइकन उत्कृष्ट परिणामको अपेक्षा गर्नु अनुचित हो,” उनले भने। उनले व्यवस्थापनलाई आग्रह गर्छन् “कर्मचारीलाई आधुनिक प्रविधिमा तालिम दिँदै क्षमता अभिवृद्धिको वातावरण सिर्जना गरौं।”

कर्मचारीले पनि तलब लिएबापतको जिम्मेवारी पूरा गर्नुपर्ने उनि बताउछन्। “कर्मचारी टेबलमा बस्न मात्र होइन, आउटपुट दिन सक्नुपर्छ। कतिपय साथीहरु नतिजा नदिई जिम्मेवारीबाट पन्छिन्छन्, यस्तो प्रवृत्तिले संस्थालाई कमजोर बनाउँछ,” उनले भने।

कम्पनी र कर्मचारी दुवै पक्षको हित हुनेगरी 'विन-विन' अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ। “संस्था रहेपछि मात्र सञ्चालक, व्यवस्थापक, कर्मचारी, अभिकर्ता सबैको अस्तित्व रहन्छ। त्यसैले अधिकार माग्दा कर्तव्यको पनि मूल्यांकन गर्नुपर्छ,।

उनले कर्मचारी हितका विषयमा सदैव कम्पनीप्रति जिम्मेवार दृष्टिकोण राख्दै आएका छन्। “हामीसँग आन्दोलन गर्ने अधिकार छ, तर आन्दोलनको सट्टा संवाद र सहकार्यलाई प्राथमिकता दिँदै कम्पनीलाई पनि बचाउने, कर्मचारीलाई पनि सुरक्षित राख्ने हाम्रो लक्ष्य हो।”

कर्म, शालिनता र सेवा भावनाले बनेको एक प्रेरक जीवन

कर्मलाल योञ्जनको जीवन कथा एउटा उदाहरण हो; जहाँ साधना, संघर्ष, श्रम, र सेवाभाव मिसिएको छ। न त अत्यधिक शिक्षा, न त विशेष पृष्ठभूमि तर पनि उनी कम्पनीभित्र विश्वासको पर्याय बनेका छन्। यिनै गुणका कारण उनले कर्मक्षेत्रमा सफलता मात्र हैन, सहकर्मीहरूको मन पनि जित्न सकेका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया