Nepal Life

बीमाको दायरा ४ प्रतिशतले विस्तार, बीमा व्यवसायमा १४.५ प्रतिशतको वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 11:15
बीमाको दायरा ४ प्रतिशतले विस्तार, बीमा व्यवसायमा १४.५ प्रतिशतको वृद्धि
National Life

काठमाडौं, असार २३।  नेपालमा बीमा सचेतना बढेसँगै बीमाको पहुँचमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हाल बीमाको दायरामा समेटिएको जनसंख्या ४७.९५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको जेठ मसान्तसम्म ४३.९५ प्रतिशत थियो। यसले ४ प्रतिशत बिन्दुले वृद्धि दर्शाउँछ।

बीमा प्राधिकरणले म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगारी जीवन बीमा समावेश गरी बीमा दायराको यो आँकडा सार्वजनिक गरेको हो। वैदेशिक रोजगारीमा जान अनिवार्य जीवन बीमा गर्नुपर्ने प्रावधान रहेको छ। म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा हटाएर हेर्दा बीमाको दायरा १६.९८ प्रतिशत मात्र देखिन्छ।

बीमा व्यवसाय २ खर्ब नजिक

बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनासम्ममा कुल १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रुपैयाँ बराबरको बीमा कारोबार गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १४.५ प्रतिशतले बढी हो। गत वर्ष जेठ मसान्तसम्म यो कारोबार १ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो।

यस अवधिमा जीवन बीमाको हिस्सा ७९.५५ प्रतिशत र निर्जीवन बीमाको हिस्सा २०.४५ प्रतिशत छ। अघिल्लो वर्ष जीवन बीमाको हिस्सा ७८.५३ प्रतिशत र निर्जीवनको २१.४३ प्रतिशत थियो।

जीवन बीमा व्यवसायमा १६% वृद्धि

जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यो संख्या १ खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ थियो, जुन तुलनामा १६ प्रतिशतले बढी हो।

यो अवधिमा जीवन बीमाले ३५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क र १ खर्ब १९ अर्ब ९८ करोड २४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष प्रथम बीमाशुल्क २७ अर्ब ७० करोड रुपैयाँ र नवीकरण बीमाशुल्क १ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ थियो।

जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेख संख्या १ करोड ५४ लाख ९८ हजार ७०१ पुगेको छ, जुन अघिल्लो वर्षको १ करोड ४० लाख ८९ हजार ७७७ को तुलनामा १० प्रतिशतले वृद्धि हो।

निर्जीवन बीमामा पनि वृद्धिको संकेत

चालु वर्षको जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँको बीमा कारोबार भएको थियो।

म्यादी र वैदेशिक बीमामा तीव्र वृद्धि

चालु आर्थिक वर्षको जेठसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७४ लाख २१ हजार २९४ पुगेको छ भने वैदेशिक रोजगार बीमालेख २५ लाख ४० हजार ९५८ छ। अघिल्लो वर्ष यो संख्या क्रमशः ६३ लाख २२ हजार २६२ र २० लाख ६७ हजार २३७ थियो।

तर, म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार बीमा बाहेकका जीवन बीमालेख भने २.८७ प्रतिशतले घटेका छन्। गत वर्ष ५७ लाख २७८ बीमालेख रहँदा हाल त्यो संख्या घटेर ५५ लाख ३६ हजार ४४९ मा झरेको छ।

हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया