Nepal Life

स्वास्थ्य बीमामार्फत अब २ लाख रुपैयाँ उपचार सुविधा, साउन १ देखि लागु हुने

NMB Bank
  • BFIS News
  • 2025 Jul 10 11:34
स्वास्थ्य बीमामार्फत अब २ लाख रुपैयाँ उपचार सुविधा, साउन १ देखि लागु हुने
National Life

काठमाडौं, २६ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार सहायता दोब्बर बनाउने घोषणा गरेका छन्। अब आठ प्रकारका जटिल रोगका बिरामीहरूले २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्।

Shikhar
NIMB

मन्त्री पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै साउन १ गतेदेखि क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर रोगका बिरामीहरूले यो सुविधा पाउने व्यवस्था गरिएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, "कडा रोग लागेर उपचार खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ यो निर्णय गरिएको हो।"

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मंगलबार राति बसेको बोर्ड बैठकले यो निर्णय पारित गरेको जानकारी दिए। उनका अनुसार यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ।

नीति तथा योजना

मन्त्री पौडेलले स्वास्थ्य बीमाबाट उपचार सहायता वृद्धि गर्ने मात्र नभई बीमा कोषको आयश्रोत वृद्धि गर्ने नीति पनि अघि सारेका छन्। यस अन्तर्गत सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई बीमामा अनिवार्य रूपमा आबद्ध गराउने लक्ष्य राखिएको छ।

यसबाहेक विदेशमा रोजगारीमा गएका नेपालीहरू र तिनका परिवारहरूलाई पनि बीमामा आबद्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि विभिन्न मन्त्रालयहरूसँग समन्वय गरिएको छ।

सरकारले हालैको बजेटमार्फत बीमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा गरिसकेको छ। साथै संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत बीमा कोषमा पठाउने निर्णय पनि मन्त्री पौडेलले गरिसकेका छन्।

निगरानी र सुधार

बीमा बोर्डले अनियमित रूपमा भुक्तानी माग गर्ने अस्पतालहरूलाई कारबाही गर्दै आएको छ। बोर्डले प्रणाली सुधार गर्दै निगरानी बढाउने काम समेत थालेको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए।

यी सबै पहलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप मजबुत बनाउने र नागरिकको पहुँच अझै वृद्धि हुने अपेक्षा गरिएको छ। मन्त्री पौडेलले भनेका छन्, "स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ। तपाईंको रचनात्मक सुझाव सधैँ स्वागतयोग्य छ।"

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया