एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
- BFIS News
- 2025 Aug 05 11:37
काठमाडौं, साउन २० – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (साउन २० गते) अन्तिम दिन रहेको छ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। उक्त अनुपातमा इन्स्योरेन्सले कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।
इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि जेठ १६ गते बुकक्लोज गरेको थियो। सो अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।
उक्त हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए माइनस (IRN A−) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले लिएको छ। शेयरधनीहरुले मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालयहरू तथा एशियन लाइफ इन्स्योरेन्सका कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सेवा प्रयोग गरी, वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सि-आस्वा विधिबाट आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात यो पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)








प्रतिक्रिया