बीमा दाबी सहज बनाउन प्राधिकरणको निर्देशन, सहज र प्रभावकारी बनाउने बीमक संघको प्रतिवद्धता
- BFIS News
- 2025 Sep Fri 08:07

काठमाडौं, भदौ २६ । नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गते देशभर भएका जेनजी (Gen Z) प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। बिहीबार जारी गरिएको सूचनामार्फत प्राधिकरणले बिमित सम्पत्तिमा भएको क्षति तथा त्यसबाट उत्पन्न असहजतालाई ध्यानमा राख्दै दाबी छिटो फछ्यौट गर्न आग्रह गरेको हो।
सूचनामा भनिएको छ, ‘उक्त परिस्थितिको कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ।’
यसै क्रममा बीमा कम्पनीहरूलाई प्रत्येक हप्ता बुधबार क्षतिको विवरण Excel Worksheet भरि तोकिएको Google Form मार्फत पेस गर्न पनि भनिएको छ। प्राधिकरणको यो कदम प्रशासनिक हिसाबले उचित देखिए पनि, यसको गहिरो विश्लेषण गर्दा केही गम्भीर प्रश्नहरू उठ्छन् — विशेषतः यो आन्दोलनको सामाजिक, आर्थिक र बीमाको दायरा सन्दर्भमा।
Gen Z आन्दोलन एक भावनात्मक र डिजिटल युगको प्रतिविम्ब थियो, जहाँ युवाहरूले सामाजिक सञ्जालको माध्यमबाट तिव्र रूपमा संगठित भई सडकमा उत्रिए। उनीहरूको आवाज स्पष्ट थियो — "नीति परिवर्तन, पारदर्शिता, र समावेशीता।" तर यससँगै केही दृश्यहरूमा नियन्त्रणभन्दा बाहिर गएको भीड, सार्वजनिक सम्पत्तिमा क्षति, व्यवसाय बन्द हुने अवस्था, र सामाजिक अशान्तिको अवस्था सिर्जना भयो।
नेपाल बीमक संघले हाल देखिएको विपद्बाट पीडित बीमित र सेवाग्राहीहरुलाई बीमा दाबी सहज र प्रभावकारी ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बीमित तथा ग्राहकहरुलाई क्षतिको विवरणका लागि आफ्ना सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
संघले बीमा कम्पनीहरु दाबी व्यवस्थापनमा सक्षम र प्रतिवद्ध रहेको स्पष्ट पार्दै सञ्चार माध्यममा सम्प्रेषित केही समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै, देशभर देखिएको प्रतिकूल परिस्थितिका कारण भएको मानविय क्षति तथा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बीमक संघले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
प्रतिक्रिया