चुनौतीहरु माझ हासिल उपलब्धीले बैंकलाई थप मजबुत बनाउदै छ, अध्यक्ष रोशन केसीको विचार
- रोशन के.सी
- 2025 Sep 27 13:10

काठमाडौं। बैंक स्थापनाको गौरवमय २७ वर्ष तथा बैंकिङ्ग कारोबार सञ्चालनको सफलतापूर्वक २५ वर्ष पार गरेको ऐतिहासिक अवसरमा सम्पूर्ण शेयरधनी महानुभावहरू, नियामक निकाय, ग्राहक महाभावनुहरू, कर्मचारीहरु तथा बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बद्ध सम्पूर्ण सरोकारवालाहरूबाट प्राप्त अगाध विश्वास र आत्मीय सहयोगका लागि मेरो व्यक्तिगत तर्फबाट एंव बैंक परिवारको तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
स्थापनाको देखि रजत जयन्तीसम्म आईपुग्दा माछापुच्छ्रे बैंकले धेरै आरोह अवरोहहरुको सामना गरेको छ । बैंकले भोगेका हरेक सजिला अप्ठ्यारा परिस्थीतीहरुमा साथ दिदै बैंकलाई यो स्थानसम्म ल्याई पुर्याउन अहम भुमिका खेल्नु हुने तपाई सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यहाँहरूको अमूल्य साथ, विश्वास र सहयोग यथावत् रहनेछ भन्ने दृढ विश्वास प्रकट गर्दछु ।
विगतका आर्थिक वर्षहरु नेपाली वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहन पुग्यो । चुनौतीपूर्ण अवस्थाका बावजुद पनि बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कुरा यस गरिमामय सभामा साझा गर्न पाउदाँ अत्यन्तै खुशी लागेको छ ।
देशका हरेक समुदाय सम्म बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यका साथ सरल, सहज र सुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएका छौ । अत्याधुनिक प्रविधि र ग्राहकमैत्री सेवा प्रणालीमार्फत आम नागरिकलाई विश्वस्तरीय वित्तीय सुविधा प्रदान गर्ने तथा बैंकिङ्ग क्षेत्रमा दिगो, विश्वासिलो र विशिष्ट पहिचान कायम गर्न हामी सदैव क्रियाशिल रहेको कुरा यहाँहरु समक्ष विदितै छ ।
दुरदराजमा रहनुभएका समुदायमा वित्तिय पहुँच, डिजिटल रुपान्तरण, सुशासन र सामाजिक उत्तरदायित्वमा आधारित मूल्यहरूमा बैंक अडिग रहँदै आएको छ । कृषि, महिला उद्यमशीलता, तथा डिजिटल सेवामा निरन्तर नवप्रवर्तन मार्फत देशको आर्थिक समृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने बाटोमा अगाडी बढिरहेका छौं । विगतका केहि वर्षहरूमा नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको हामी सबैमा सर्वविदितै छ ।
कहिले तरलता अभाव तथा प्राथमिक पूँजी संकुचनले व्यवसाय विस्तारमा बाधा पुग्ने तथा कहिले तरलता सहज भएको अवस्थामा पनि विभिन्न कारणले व्यवसाय विस्तार गर्न नसकिएको अवस्थाबाट देशको अर्थ व्यवस्था पछिल्लो समयमा भने क्रमशः लयमा फर्कन थालेको आभाष भइरहेको छ । हरेक वर्ष हामी कुनै न कुनै रुपमा आफ्ना सेयरधनीहरुलाई आफ्नो लगानीको यथोचित प्रतिफल प्रदान गर्नका लागि हरसम्भव कोशिस गरिनै रहेका हुन्छौँ ।
यस वर्ष हामी आ.व. समाप्तीको साढे २ महिना भित्रै उचित लाभांश सहित साधारण सभामा उपस्थित हुने अवसर जुटेको छ । बैंकले नियमनकारी निकायले जारी गर्ने निर्देशन अनुरुप आफ्ना नीति तथा कार्ययोजनाहरु तर्जुमा गरि सोही अनुरुप ति नीती तथा कार्यक्रमहरुको अनुपालन गर्दै आएको कुरा यँहाहरुलाई विदितै छ । सुशासन र नीति नियमको पालनामा बैंकले शून्य सहनशीलताको नीति अपनाएको छ, जसको कडाईका लागि बैंकले कुनै किसिमको सम्झौता गरेको छैन र भविष्यमा पनि गर्ने छैन ।
विज्ञान र प्रविधिमा भएका नयाँ नयाँ परिवर्तनहरूलाई अंगाल्दै, हामी आफ्ना सेवाहरूलाई अझ सजिलो, आधुनिक र प्रभावकारी बनाउने प्रयासमा छौ ं। साथै, सबै कानुनी व्यवस्था र नियामक निकायका निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापनमा पनि उत्तिकै सतर्क रहँदै आएका छौं । नयाँ नयाँ प्रविधिले बैंकिङ्ग क्षेत्रलाई अझ सहज र सरल बनाईरहेको अहिलेको परिप्रेक्षमा नयाँ र मूल्यमा आधारित सेवा सुविधा थप गर्ने योजनामा बैंक काम गरिरहेको समेत यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
अन्त्यमा, सभामा उपस्थित शेयरधनीज्यूहरु एवं अतिथिज्यूहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरुबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि आभार प्रकट गर्दछु । बैंकलाई प्राप्त अमूल्य मार्गदर्शनका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लगायतका सम्पूर्ण नियामक निकायहरुलाई समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
साथै, बैंकको सञ्चालक समितिको मार्गदर्शन, कर्मचारी साथीहरुको मेहनत र लगनशीलता, शेयरधनी महानुभावहरु, अन्य शुभचिन्तक एवं सरोकारवालाहरुबाट प्राप्त विश्वास एवं सुझावहरु निरन्तर र यथावत कायम रहनेमा विश्वस्त छु ।
विगतका अनुभव र घटनाक्रमबाट मूल्यवान् पाठ सिक्दै, अवसर र चुनौतीलाई समयानुकूल बैंकको हितमा उपयोग गर्दै, माछापुच्छ्रे बैंकले आफ्नो उन्नत इतिहास र विश्वासिलो पहिचान निर्माण गरी आज आफ्नो स्थापना कालको २७ वर्ष सफलतापूर्वक पूरा गर्न पुगेको छ । यस यात्रामा हाम्रो मूल उद्देश्य हाम्रा ग्राहकहरुलाई आधुनिक प्रविधि र दक्ष जनशक्तिद्वारा उत्कृष्ट सेवा प्रदान गर्नु, विखण्डित पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु, लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल दिनु, उच्चतम स्तरको संस्थागत सुशासन र नैतिक आचरण कायम राख्नु तथा देशले अवलम्बन गरेका कानुन र नियमलाई अक्षरस पालना गर्नु रहँदै आएको छ ।
गत आर्थिक वर्षमा समग्र बैंकिङ्ग क्षेत्रले चुनौतीपूर्ण अवस्था सामना गर्नुपर्यो । कर्जाको गुणस्तरमा गिरावट आउनु, बैंक तथा वित्तीय संस्थाहरूको निष्कृय कर्जा अनुपात र गैर–बैंकिङ्ग सम्पत्तिमा वृद्धि हुनु, तथा पर्याप्त तरलता रहँदा पनि व्यवसाय विस्तारमा सीमितता हुनुजस्ता परिस्थितिहरूबीच पनि माछापुच्छ्रे बैंकले उत्कृष्ट कार्यसम्पादन, स्पष्ट दृष्टिकोण र प्रभावकारी रणनीतिको सहायताले वित्तीय परिसूचकहरूमा आफ्नो स्थानलाई निरन्तर सुदृढ पार्दै विश्वसनीय, सबल र दिगो बैंकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
यस यात्रामा शेयरधनी महानुभावहरूले सञ्चालक समिति प्रति प्रदान गर्नुभएको विश्वास, आस्था र भरोसाले हामीलाई निरन्तर उत्साह र उर्जा दिएको छ । साथै, बैंकका कर्मचारीवर्ग, नियामक निकाय, ग्राहकवर्ग, शुभेच्छुक तथा अन्य सम्बद्ध निकायहरूसँगको सहकार्य र योगदानले बैंकलाई अझ सबल, उत्कृष्ट र विस्तारित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
यस अवसरमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र शुभेच्छा प्रकट गर्नुभएको सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । अब, म यहाँहरु समक्ष २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड, नगद प्रवाह विवरण साथै यस अवधिमा बैंकले गरको उपलब्धि, सञ्चालनमा देखिएका चुनौतीहरू र समग्र बैंकिङ्ग क्षेत्रको पुनरावलोकन सहित सञ्चालक समितिको प्रतिवेदन लगायत अन्य सम्पूर्ण वित्तीय विवरणहरू सभा समक्ष पेश गर्दछु । यो प्रतिवेदन कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकद्वारा समय–समयमा जारी भएका निर्देशनहरूको अधिनमा रही तयार गरिएका छ ।
म यस सभामा सञ्चालक समितिको तर्फबाट बैंकिङ्ग क्षेत्रको माछापुच्छ्रे बैंक लिमिटेडको सत्ताइसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन समग्र परिसूचक प्रस्तुत गर्दै बैंकको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा व्यवसायिक रणनीति तथा भावी योजनाहरू प्रस्तुत गर्दछु ।
अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य
कोभिड–१९ महामारी पश्चात् क्रमशः सुधार हुँदै गएको विश्व अर्थतन्त्र बढ्दो भूराजनीतिक तनाब र पछिल्लो समय ठूला अर्थतन्त्रहरूबीचको कठोर व्यापारिक नीतिले पुनः प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय मुद्राकोषको विश्लेषण रहेको छ । फलस्वरूप, सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण रहेको छ । सन् २०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२५ मा १.४ प्रतिशतले विस्तार हुने र सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र सन् २०२५ मा ३.७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण रहेको छ ।
सन् २०२४ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ६.५ प्रतिशत र ५.० प्रतिशतले विस्तार भएकोमा सन् २०२५ मा क्रमशः ६.२ प्रतिशत र ४.० प्रतिशतले मात्र विस्तार हुने कोषको प्रक्षेपण छ । विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गएको छ । सन् २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत रहने कोषको प्रक्षेपण रहेको छ । विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा २.६ प्रतिशत रहेकोमा सन् २०२५ मा २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । साथै, उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा ७.७ प्रतिशत रहेकोमा सन् २०२५ मा ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।
विश्व मुद्रास्फीति घट्ने क्रममा रहे तापनि भू–राजनीतिक तनाब र केही मुलुकहरूको कठोर व्यापार नीतिले मूल्यमा चाप पर्न सक्ने जोखिम कायमै रहेको कोषको विश्लेषण रहेको छ । मुद्रास्फीति घट्दै गएसँगै विश्वका अधिकांश मुलुकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गर्न थालेका छन् । युरोपियन केन्द्रीय बैंकले सन् २०२४ जुनदेखि आठ पटक निक्षेप सुविधा दरलाई घटाएको छ । यसै गरी, भारतीय रिजर्भ बैंकले सन् २०२३ फेब्रुअरीदेखि ६.५ प्रतिशत कायम गरेको नीतिगत दर सन् २०२५ फेब्रुअरी यता लगातार तीन पटक घटाएर सन् २०२५ जुनमा ५.५ प्रतिशत कायम गरेको छ । पिपुल्स बैंक अफ चाइनाले २०२३ जुनमा ३.५५ प्रतिशत रहेको एक वर्षे लोन प्राइम रेट घटाएर २०२५ जुनमा ३.०० प्रतिशत कायम गरेको छ ।
अमेरिकी फेडरल रिजर्भले फेडरल फण्ड्स रेटलाई सन् २०२४ सेप्टेम्बरको ५.२५–५.५ प्रतिशतको दायराबाट तीन पटक घटाएर सन् २०२४ डिसेम्बरमा ४.२५– ४.५० प्रतिशतको दायराभित्र कायम गरी निरन्तरता दिएको छ । मुलुकको समष्टिगत आर्थिक अवस्था परिदृश्य आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्र ३.२८ प्रतिशत, उद्योग क्षेत्र ४.५३ प्रतिशत र सेवा क्षेत्र ४.२१ प्रतिशतले वृद्धि हुने अनुमान छ । अघिल्ला दुई आर्थिक वर्षहरूमा उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उप–क्षेत्रहरू सङ्कुचनमा गएकोमा आर्थिक वर्ष २०८१/८२ मा ती सवै उपक्षेत्रहरू विस्तार हुने अनुमान छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रयमासमा आर्थिक वृद्धि ४.८ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो अनुमान छ ।
निर्माणाधीन राष्ट्रिय गौरवका तथा उच्च प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरूमध्ये नागढुङ्गा सुरुङमार्ग, काठमाडौं–तराई द्रुतमार्ग, पृथ्वी लोकमार्गको पोखरा–मुग्लिन सडक खण्ड, भेरी–बबई बहुउद्देश्यीय परियोजना, सिद्धबाबा सुरुङमार्गलगायतका आयोजनाहरू सम्पन्न हुने चरणमा रहेका छन् ।
यस्ता आयोजनाहरूको निर्माणपश्चात् उद्योग र सेवा क्षेत्रको क्षमता विस्तारमा सहयोग पुग्दै आर्थिक क्रियाकलाप विस्तार हुने अनुमान रहेको छ । यसै गरी, आगामी पाँच वर्षसम्म जडित जलविद्युत् क्षमता प्रत्येक वर्ष कम्तीमा एक हजार मेगावाटका दरले थपिने गरी निर्माण कार्य अघि बढेको छ ।
बङ्गलादेशसँग विद्युत् खरिद सम्झौता भई २०८२ असार १ गतेबाट विद्युत् निर्यात हुन थालेको छ । पर्यटक आगमन सङ्ख्या कोभिड–१९ अघिको अवस्थामा पुग्नुको साथै पर्यटन पूर्वाधार विस्तार भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भएमा आन्तरिक तथा वाह्य पर्यटन र यससँग सम्बन्धित अर्थतन्त्रमा अग्र–पृष्ठ सम्बन्धका क्षेत्रहरूमा उत्पादन एवम् रोजगारी वृद्धि हुने सम्भावना रहेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सूचना प्रविधि सेवा निर्यातका लागि नीतिगत सहजीकरण गर्ने, साना तथा मझौला उद्यम प्रोत्साहन गर्ने लगायतका कार्यक्रम ल्याएकोले सेवा निर्यात विस्तार हुने अनुमान छ । आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । तीनै तहका सरकारको बजेटमा पुँजीगत खर्चको विनियोजन अघिल्लो वर्षको तुलनामा बढेको, वित्तीय प्रणालीमा न्यून ब्याजदरसहित लगानीको लागि पर्याप्त तरलता रहेको र लगानीसम्बन्धी कानुनहरू सुधार भई लगानीको वातावरण थप अनुकूल हुँदै गएको सन्दर्भमा कृषि, सेवा र पूर्वाधार क्षेत्रको विकास तथा विस्तार भई लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सहज हुने देखिन्छ ।
(प्रस्तुत विचार माछापुच्छ्रे बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के.सी को हो। प्रस्तुत विचार बैंकको २७ औं वार्षिक साधारणसभामा केसीले दिएको मन्तव्यबाट लिइएको हो।)
प्रतिक्रिया