Nepal Life

उदयपुरमा यात्रुवाहक विङ्गर दुर्घटना : चालकसहित १२ जना घाइते

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 23:43
उदयपुरमा यात्रुवाहक विङ्गर दुर्घटना : चालकसहित १२ जना घाइते
United Ajod

गाईघाट, कात्तिक २४ गते । उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना यात्रु घाइते भएका छन्। गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना.१ ज.८३९१ नम्बरको विङ्गर आइतबार बिहान अनियन्त्रित भई सडकछेउको सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल, उदयपुरमा उपचारका लागि लगिएको थियो। बिरामीहरूको अवस्थाअनुसार केहीलाई थप उपचारका लागि विराटनगरस्थित विभिन्न अस्पतालहरूमा रेफर गरिएको र केहीलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) केदारमान दोङका अनुसार, दुर्घटनामा विङ्गर चालक सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका–३, मोतिगडामा बस्दै आएका २६ वर्षीय उपेन्द्र साह पनि घाइते भएका छन्। उहाँ अहिले जिल्ला अस्पताल, उदयपुरमा उपचाररत हुनुहुन्छ।

गम्भीर घाइते हुनेहरूमा त्रियुगा नगरपालिका–११, सङ्गमटोलकी ६० वर्षीया रामकुमारी राई, त्रियुगा–१२ का ४४ वर्षीय ज्ञानेन्द्र विक, त्रियुगा–७, चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रियुगा–२, खैजनपुरका ७७ वर्षीय कमलबहादुर खड्का र ५७ वर्षीय नरबहादुर खत्री रहेका छन्। उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित अस्पतालमा पठाइएको छ।

त्यसैगरी, त्रियुगा नगरपालिका–११, सङ्गमटोलका ७४ वर्षीय पूर्णबहादुर राई, त्रियुगा–१२ की १७ वर्षीया प्रजिता विक, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–२ का ४५ वर्षीय तीर्थ घिमिरे, सप्तरी, सुरुङ्गा नगरपालिका–१ की २७ वर्षीया चन्द्रमाया चौधरी र उनकी ४ वर्षीया छोरी एरिना चौधरी, साथै काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–२ का ४४ वर्षीय शम्भुराज पोखरेल सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट सवारीको गति र सडकको मोडमा नियन्त्रण गुम्दा दुर्घटना भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया