मुस्ताङमा २०० भन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
- BFIS News
- 2026 Mar 31 12:49
मुक्तिनाथ (मुस्ताङ), चैत १७ — पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मुस्ताङमा २०० भन्दा बढी किशोरीलाई एचपिभी (HPV) खोप लगाइने भएको छ।
जाडो मौसमका कारण अन्य जिल्लामा सम्पन्न हुन नसकेको खोप अभियान गर्मी सुरु भएसँगै विद्यालय खुल्ने बित्तिकै मुस्ताङका पाँचवटै गाउँपालिकाका विद्यालयमा पुगेर सञ्चालन गरिएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङकी फोकल पर्सन सम्झना बुढाका अनुसार कक्षा ६ मा अध्ययनरत किशोरी तथा आर्थिक वर्ष २०८१/८२ मा खोप लगाउन छुटेका विद्यालय बाहिरका ११–१४ वर्ष उमेर समूहका २०१ जना किशोरीलाई खोप लगाइने योजना छ।
खोप अभियान प्रभावकारी बनाउन स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइनुका साथै व्यापक प्रचार–प्रसार समेत गरिएको छ। गाउँपालिकागत रूपमा घरपझोङमा ८१, लो–घेकर दामोदर कुण्डमा ४१, थासाङमा ४०, बारागुङ मुक्तिक्षेत्रमा २७ र लोमन्थाङमा १२ जना किशोरीलाई खोप लगाइनेछ।
तल्लो मुस्ताङका तीन पालिकामा चैत १७ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ भने उपल्लो मुस्ताङमा विद्यालय बन्द भएकाले चैत २४ देखि २८ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ।
अभियान सकिएपछि पनि कुनै किशोरी नछुटोस् भन्ने उद्देश्यले द्रुत अनुगमन टोली परिचालन गरी छुटेका वा अन्यत्र गएका किशोरीलाई समेत खोजेर खोप लगाउने काम भइरहेको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिं लालचनले सो जानकारी दिनुभयो।
चिकित्सकहरूका अनुसार १०–१४ वर्ष उमेर समूहमा एचपिभी खोप लगाउनु बढी प्रभावकारी मानिन्छ। साथै ३० वर्षमाथिका महिलाले प्रत्येक पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले प्रत्येक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन सिफारिस गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया