Nepal Life

मुस्ताङमा लोपोन्मुख चिरकालिज संरक्षण चुनौतीमा

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 16:19
मुस्ताङमा लोपोन्मुख चिरकालिज संरक्षण चुनौतीमा
United Ajod

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १० गते । मुस्ताङको थासाङ गाउँपालिकामा लोपोन्मुख प्रजातिको चिरकालिज चोरीशिकार, आहारा अभाव र डढेलोका कारण जोखिममा परेको छ।

Shikhar
Nepal Life
NIMB

नेपालमा एक हजारभन्दा कम सङ्ख्यामा रहेको चिरकालिज थासाङका बुङ्गा खर्क, सेकुङ खर्क, ताङ्जे, सार्को खर्क, पुदार खर्क, पाङ्पु खर्क र तिती खर्कमा पाइन्छ। नेपाल पंक्षीविद् सङ्घका अनुसन्धान अधिकृत विराट रजकका अनुसार, चोरीशिकार र डढेलोले वासस्थानमा गम्भीर असर पुर्‍याएको छ।

रजकले भने, “चिरकालिज उडेर लामो यात्रा गर्न नसक्ने भएकाले शिकारीको निशानामा पर्न सक्छ। जमिनमा हिँड्ने प्राणी भएकाले मानवसिर्जित गतिविधिले पनि प्रत्यक्ष असर गर्छ। यो हिमालको सुन्दरता हो, जोगाउन अति आवश्यक छ।”

अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने थासाङ क्षेत्रमा डढेलोले चिरकालिजको गुँड तहसनहस गर्ने, अण्डा र चल्ला नष्ट गर्ने र वयस्क जनावर पनि मर्न सक्ने अनुसन्धानले देखाएको छ।

थासाङ क्षेत्रको भौगोलिक स्थितिका कारण मुस्ताङको अन्य पालिकाको तुलनामा डढेलो बढी फैलिने गर्दछ। अध्ययनअनुसार, चिरकालिजको संख्या सन् २००४ मा १७ जोडी, २००६ मा ११ जोडी, २००९ मा ६ जोडी र २०२५ मा १८ जोडी भेटिएको छ।

अनुसन्धानले देखाएको छ कि चिरकालिजको संख्या बढाउने समय चैत, वैशाख र जेठ महिनामा वासस्थान जोगाउन कठिन हुन्छ। चोरीशिकार र डढेलो नियन्त्रणमा समुदायको सहयोग महत्वपूर्ण रहेको रजकले बताए।

थासाङ गाउँपालिका–४ का वडा अध्यक्ष नरेन्द्र शेरचनले भने, “यस क्षेत्रको सुन्दरता भनेकै पंक्षी र वन्यजन्तु हो। डढेलोबाट वनजङ्गल जोगाउन निरन्तर सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छौं।”

अध्यक्ष शेरचनका अनुसार, डढेलो फैलिनबाट रोक्न अग्निरेखा निर्माण लगायतका संरचना निर्माणमा काम भइरहेको छ। विद्यालयमा सञ्चालित संरक्षण शिक्षा कार्यक्रम मार्फत चिरकालिजबारे जानकारी दिने काम पनि अगाडि बढाइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया