Nepal Life

लुटिएका हतियार र फरार कैदीका कारण चुनाव प्रभावित हुँदैन : गृहमन्त्री अर्याल

NMB Bank
  • BFIS News
  • 2025 Dec 02 15:45
लुटिएका हतियार र फरार कैदीका कारण चुनाव प्रभावित हुँदैन : गृहमन्त्री अर्याल
United Ajod

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन जेड आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीका कारण आगामी निर्वाचन प्रभावित नहुने स्पष्ट गरेका छन्।

Shikhar
Nepal Life
NIMB

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ (सेप्टेम्बर ८ र ९) का घटनालाई अनावश्यक रूपमा अतिरञ्जित गर्न नपर्ने उल्लेख गरे।

गृहमन्त्रीका अनुसार जेन जेड आन्दोलनका क्रममा लुटिएका ७२७ हतियार फिर्ता भइसकेका छन् भने ४,५५२ फरार कैदीमध्ये बाँकीलाई पक्राउ गर्न ‘ओपरेसन’ सुरु गरिएको छ। उनका अनुसार बाँकी हतियार फिर्ता ल्याउने प्रक्रिया पनि जारी छ।

"सबैलाई समेटेर चुनावतर्फ अघि बढ्दैछ सरकार"

लोकतान्त्रिक प्रणालीमा चुनाव अनिवार्य हुने बताउँदै उनले भने, “सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ। कसैलाई पनि बाहिर नराखी सबैको भावना समेटेर निर्धारित समयमा नै चुनाव गर्ने तयारी भएको छ।”

उनका अनुसार सुशासन, कानूनको शासन, हस्तक्षेप रहित प्रशासन र निर्धारित समयभित्र निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य उद्देश्य हो।

शान्ति सुरक्षा र सुशासनमा गृह प्रशासन सक्रिय

गृहमन्त्री अर्यालले भदौ २३ र २४ पछिका घटनापछि युवाले उठाएका सुशासन र न्यायका मागलाई सम्बोधन गर्न गृह प्रशासन शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न, सुशासन प्रवर्द्धन गर्न तथा सेवा प्रवाह प्रभावकारी बनाउन गम्भीर रूपमा लागिरहेको बताए।

“सुरक्षा अधिकृतहरूको मनोबल उच्च भए मात्र नागरिक र राष्ट्रको मनोबल उच्च हुन्छ,” उनले भने। नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध पनि क्रमशः मजबुत बन्दै गएको बताए।

उनले निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा प्रदेश सरकारको भूमिकासमेत महत्त्वपूर्ण हुने उल्लेख गरे।

प्रदेश नेतृत्वको प्रतिबद्धता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले निर्वाचनमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए।
“देशलाई सही दिशामा लैजाने माध्यम चुनाव हो। त्यसैले सबै मिलेर चुनावका लागि आवश्यक वातावरण बनाउनुपर्ने आवश्यकता छ,” उनले भने।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले चुनावका लागि उपयुक्त सुरक्षा वातावरण निर्माण गर्न संघीय सरकार र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

उच्चस्तरीय सहभागीता

गोष्ठीको अध्यक्षता गृह मन्त्रालयका सचिव रमेश्वर डंगोलले गरेका छन्।
गोष्ठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक (IGP), राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाको सुदूरपश्चिम क्षेत्रीय मुख्यालयका कमाण्डर, गृह मन्त्रालयका अधिकारी तथा सुदूरपश्चिमका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ।

कार्यक्रममा प्रदेशस्तरीय सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भइरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया