Nepal Life

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ पुस ३ गतेदेखि खुल्ने, प्रभावित र बैदेशिक रोजगारमा गएकाले पाउने

NMB Bank
  • BFIS News
  • 2025 Dec 09 10:58
भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ पुस ३ गतेदेखि खुल्ने, प्रभावित र बैदेशिक रोजगारमा गएकाले पाउने
United Ajod

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १० करोड रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित लमजुङ्गको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दालाई, भने बाँकी ४० प्रतिशत वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का अप्रत्यक्ष प्रभावित बासिन्दालाई छुट्याइएको छ।

यससँगै सर्वसाधारणका लागि छुट्याइने शेयरको १० प्रतिशतले हुने १ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रही नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूका लागि निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन अवधि छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म रहनेछ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले भुजुङ्ग हाइड्रोपावरलाई इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसामा निर्माण भएको हो। प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा परेको छ। आयोजना संचालन अनुमतिपत्रमा ३० वर्ष अवधी बाँकी छ। साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष र डिस्काउण्टेड पेब्याक अवधि १६.०९ वर्ष तोकिएको छ। सो परियोजनाबाट कम्पनीले २०८१ बैशाख ६ गतेदेखि विद्युत उत्पादन सुरू गरिसकेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका–४ कार्यालय, गाउँपालिकाको मुख्य कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशी–काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि आवश्यक दरखास्त फाराम शुल्क २ रुपैयाँ तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चाहिँ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया