Nepal Life

भक्तपुरमा एमालेको ११औँ महाधिवेशन उद्घाटन, भीड व्यवस्थापनमा विशेष तयारी

NMB Bank
  • BFIS News
  • 2025 Dec 12 19:59
भक्तपुरमा एमालेको ११औँ महाधिवेशन उद्घाटन, भीड व्यवस्थापनमा विशेष तयारी
United Ajod

भक्तपुर, मंसिर २६ । नेकपा (एमाले) भक्तपुरले शनिबार सल्लाघारीस्थित नेपाल ट्रष्टको करिब १०८ रोपनी चौरमा हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा व्यापक सहभागिताका लागि सार्वजनिक अपिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

पहिलोपटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनले जिल्लाभर उत्साहजनक चहलपहल बढेको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो। जिल्ला कमिटीद्वारा जारी अपिलमा जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवायुवती तथा जेनजी पुस्तालाई समेत कार्यक्रममा सहभागी भइ उद्घाटन समारोह सफल बनाउन आग्रह गरिएको छ।

देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’ का रूपमा सबैले साथ दिने विश्वास व्यक्त गर्नुभयो। देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार क्षेत्रका मुख्य सडकमा सवारी चाप बढ्ने जिल्ला कमिटीले जनाएको छ।

विशेषगरी पूर्वतर्फ जगातीदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ। सुरक्षा निकायसँगको समन्वयमा चाप व्यवस्थापन गर्न तयारी भइरहेको बताउँदै अत्यावश्यक बाहेकका निजी सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ।

शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाउन समेत आग्रह छ। महाधिवेशन स्थलमा सबैतर्फबाट आउने सहभागीहरूको लाइन मिलाउन सुरक्षा व्यवस्था थप कडाइ गरिएको कमिटीले जनाएको छ।

अध्यक्ष देउजाका अनुसार महाधिवेशनको मुख्य स्टेज भक्तपुरको परम्परागत कला, संस्कृति, भेषभूषा र सम्पदा झल्किने रुपमा सजिएको छ। यसले भक्तपुरको पर्यटन प्रवर्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास अध्यक्ष देउजाले व्यक्त गर्नुभएको छ। एमालेले कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबैको सहयोग अपेक्षा गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया