Nepal Life

नेपालको आइटी क्षेत्रलाई विश्व बजारमा पखेटा फैलाउन राष्ट्र बैंक गभर्नरको आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Dec 30 10:34
नेपालको आइटी क्षेत्रलाई विश्व बजारमा पखेटा फैलाउन राष्ट्र बैंक गभर्नरको आह्वान
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले हालैका नीतिगत सुधारहरूले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले विगत केही वर्षमा गरिएको सुधारको आंशिक परिणामस्वरूप वैदेशिक लगानी र आइटी कम्पनीहरूको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

गभर्नर पौडेलका अनुसार अर्थ मन्त्रालयले कम्पनी दर्ता प्रक्रिया सहज बनाउने, प्रत्यक्ष वैदेशिक लगानी (FDI) का सीमामा संशोधन गर्ने तथा कर संरचनालाई विश्वसनीय बनाउनेजस्ता सुधारहरू अघि बढाएपछि आइटी क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ। “दुई वर्षअघि वैदेशिक लगानीमा करिब ४० वटा आइटी कम्पनी खुलेका थिए भने एक वर्षअघि मात्रै करिब ४०० कम्पनी दर्ता भएका छन्,” उनले भने।

राष्ट्र बैंकमा आफ्नो कार्यकालपछि थप सुधारहरू अघि सारिएको उल्लेख गर्दै गभर्नर पौडेलले नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन अमेरिकी डलरसम्म लगानी गर्न अनुमति दिइएको बताए। साथै, हाल निर्यात नगरेका कम्पनीहरूलाई समेत २० हजार डलरसम्म वैदेशिक लगानी गर्न दिइएको जानकारी उनले दिए। “नतिजा हेरेर यी सीमाहरू क्रमशः संशोधन गर्दै जानेछौं भन्ने विश्वास दिलाउन चाहन्छु,” उनले स्पष्ट पारे।

वैदेशिक लगानीकर्ताहरूले धेरै पेपरवर्कको गुनासो गर्दै आएको सन्दर्भमा उनले नाफा लैजान राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको पनि बताए। उनका अनुसार, हेर्दा सामान्य लागे पनि सन् २०२१ सम्म वैदेशिक लगानीमा प्रतिबन्ध रहेको नेपालका लागि यी पहलहरू दूरगामी महत्वका छन्।

अन्त्यमा गभर्नर पौडेलले युवाहरूसँग आत्मविश्वासका साथ नयाँ उत्पादन विकास गर्न र विश्व बजारमा नजर राख्न आग्रह गरे। “ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुस्, पखेटा फैलाउनुस्, मेहनत गर्नुस्। नेपालबाटै जित्न संसार सम्भव छ,” उनले भने। उनले बैंकिङ क्षेत्रले उद्यमी र स्टार्टअपहरूको विस्तारमा सदैव साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया