Nepal Life

सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, एक लाख ४३ हजार ९१७ जनाले मात्रै शेयर पाउने

NMB Bank
  • BFIS News
  • 2025 Dec 31 10:43
सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, एक लाख ४३ हजार ९१७ जनाले मात्रै शेयर पाउने
United Ajod

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। बैंकले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर हुने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो, जसअन्तर्गत कुल १७ लाख २३ हजार ८८० कित्ता शेयर जारी गरिनेछ।

उक्त आईपीओमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। साथै, ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँडफाँट गरिएको छ।

दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहने १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो। यी शेयरको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ, जसको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

सर्वसाधारण लगानीकर्ताले उक्त आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशन प्रयोजनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आईपीओ आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया