Nepal Life

मन्त्रिपरिषद्का निर्णय: इजरायलसँग श्रम सम्झौता, इथानोल मिश्रित पेट्रोल र बढुवा स्वीकृत

NMB Bank
  • BFIS News
  • 2026 Jan 05 15:43
मन्त्रिपरिषद्का निर्णय: इजरायलसँग श्रम सम्झौता, इथानोल मिश्रित पेट्रोल र बढुवा स्वीकृत
United Ajod

काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैदेशिक रोजगारी, ऊर्जा, प्रशासन तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल र इजरायल सरकारबीच हुने श्रम सम्झौतालाई स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

श्रम सम्झौता स्वीकृत भएसँगै इजरायलमा नेपाली कामदारको रोजगारी प्रक्रिया थप व्यवस्थित, पारदर्शी र आधिकारिक हुने अपेक्षा गरिएको छ। यसले वैदेशिक रोजगारीका अवसर विस्तार हुनुका साथै कामदारको हकहित संरक्षणमा समेत सहयोग पुग्ने सरकारको विश्वास छ।

बैठकले ऊर्जा र वातावरण संरक्षणतर्फ महत्वपूर्ण कदम चाल्दै ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ स्वीकृत गरेको छ। उक्त निर्णयले इन्धन आयातमा निर्भरता घटाउन, वैकल्पिक ऊर्जा प्रयोगलाई प्रवर्द्धन गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। साथै, सरकारले ओमान सरकारसँग हुने समझदारी पत्र (MoU) लाई पनि स्वीकृति दिएको छ।

प्रशासनिक तथा सुरक्षा निकायमा बढुवासम्बन्धी निर्णयअन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गरिएको छ। त्यसैगरी, नेपाल लेखा परीक्षण सेवातर्फ विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए।

सामाजिक तथा सहकारी क्षेत्रका समस्याहरू समाधान गर्नेतर्फ पनि मन्त्रिपरिषद्ले केही निर्णयहरू गरेको छ। समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ। यस्तै, ‘जेनजी’ सहिद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

वातावरण संरक्षणका लागि महत्वपूर्ण मानिएको ‘वन तेस्रो संशोधन नियमावली २०८२’ लाई समेत मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ। यी निर्णयहरूले मुलुकको प्रशासनिक सुदृढीकरण, वैदेशिक सम्बन्ध विस्तार तथा दिगो ऊर्जा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने सरकारको विश्वास रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया