Nepal Life

परियोजना ढिलाइ, तरलता अभाव, सहकारीमा देखिएको संकटले कर्जा असुलीमा कठिनाइ: सिइओ अशोक राणा

NMB Bank
  • BFIS News
  • 2026 Jan 18 05:31
परियोजना ढिलाइ, तरलता अभाव, सहकारीमा देखिएको संकटले कर्जा असुलीमा कठिनाइ: सिइओ अशोक राणा
United Ajod

काठमाडौं। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले परियोजना ढिलाइ, तरलता अभाव, सहकारीमा देखिएको संकट जस्ता कारणले कर्जा असुलीमा कठिनाइ आएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

आर्थिक अस्थिरताबीच जोखिम व्यवस्थापन चुनौतीपुर्ण बन्दै गइरहेको उनको भनाइ छ। उनले बैंकको ३३ औं वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा उनले प्राकृतिक विपत्ति बाढी, पहिरोले आर्थिक गतिविधि प्रभावित गर्नुका साथै ऋणीको भुक्तानी क्षमतामा असर पारेको बताए। साथै, केही सहकारी संस्थामा आएको संकटले बैंकिङ क्षेत्रमा समेत नकारात्मक प्रभाव पारी जनविश्वास कमजोर भएको दाबी गरेका छन्।

प्रमुख कार्यकारी अधिकृत राणाले आर्थिक अनिश्चितता र रूपान्तरणको चरणबीच सावधानीपूर्ण अगाडी बढ्नु परेको बताउदै केहि आशावादी हुनु परेको बताएका छन्। यस विचमा बैंकले सामना गरेका चुनौती, हासिल गरेका उपलब्धि तथा नेपालका जनतालाई इमान्दारी र नवप्रवर्तनका साथ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

सीईओ राणाका अनुसार तीन दशकभन्दा लामो इतिहास बोकेको हिमालयन बैंकको यात्रा विश्वास, सुशासन र नेपाली वित्तीय प्रणालीप्रतिको गहिरो बुझाइमा आधारित छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता, भूराजनीतिक तनाव, घरेलु राजनीतिक संक्रमण, नेपाल राष्ट्र बैंकमा नेतृत्वको रिक्तता, आन्दोलन तथा सामाजिक अशान्तिले वित्तीय क्षेत्रमा अनिश्चितता बढाएको उनले बताए। यस्ता कारणले बैंकिङ क्षेत्रमा लगानीको चाहना घट्नुका साथै कर्जामा सावधानी र जोखिमबाट बच्ने प्रवृत्ति बढेको उनको भनाइ छ।

यस्ता चुनौतीबीच पनि बैंकले लचकता देखाएको सीईओ राणाले जानकारी दिए। गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ३१३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जसमा बचत निक्षेप ९७ अर्ब ८२ करोड, चालु निक्षेप १७ अर्ब ६८ करोड, मुद्दती निक्षेप १६८ अर्ब ८३ करोड र अन्य निक्षेप २८ अर्ब ७३ करोड रुपैयाँ रहेका छन्।

बैंकको कर्जा लगानी २५४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। यसमा कर्पोरेट कर्जा १८७ अर्ब र खुद्रा कर्जा ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ, जसले ठूला उद्योग व्यवसायदेखि व्यक्तिगत ऋणीसम्म सन्तुलित सहयोग गरेको देखाउँछ।

वित्तीय नतिजातर्फ, बैंकले ३ अर्ब ४४ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। करपूर्व नाफा ८ करोड ७३ लाख र खुद नाफा १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ। चुनौतीपूर्ण अवस्थामा पनि यी नतिजाले बैंकको सञ्चालन दक्षता र सावधानीपूर्ण वित्तीय व्यवस्थापन झल्काएको सीईओको भनाइ छ।

तर, सम्पत्ति गुणस्तर चुनौतीका रूपमा देखिएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ७.९७ प्रतिशत पुगेको छ भने गैर–बैंकिङ सम्पत्ति (एनबीए) ५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। परियोजना ढिलाइ, तरलता अभाव, सहकारीमा देखिएको संकट जस्ता कारणले कर्जा असुलीमा कठिनाइ आएको उनले बताए।

बैंकिङ क्षेत्रमा ब्याजदर घटेर आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अन्त्यसम्म औसत कर्जा ब्याजदर ७.८५ प्रतिशत र निक्षेप ब्याजदर ४.१९ प्रतिशतमा झरेको पनि उनले उल्लेख गरे। यसले ऋणीलाई राहत दिए पनि बैंकको नाफा मार्जिनमा दबाब परेको छ।

सीईओ राणाका अनुसार बैंकले कार्ड सेवा, ट्रेजरी सञ्चालन र रेमिट्यान्सजस्ता क्षेत्रमा आफ्नो मजबुत उपस्थिति कायम राखेको छ। आगामी दिनमा आन्तरिक कर्जा असुली सुदृढ गर्ने, डिजिटल रूपान्तरण तीव्र बनाउने, आम्दानीका स्रोत विविधीकरण गर्ने तथा दिगो बैंकिङका लागि नियामक सुधारमा पहल गर्ने रणनीति लिइएको छ। प्रस्तावित एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) र ‘ब्याड बैंक’ संरचनाले समस्याग्रस्त सम्पत्तिमा राहत दिने अपेक्षा पनि उनले व्यक्त गरे।

कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, मानवीय सहायता र वातावरण संरक्षणका क्षेत्रमा बैंकले निरन्तर योगदान दिँदै आएको सीईओ राणाले बताए। साथै, दक्ष, अनुभवी र प्रतिबद्ध कर्मचारी नै बैंकको मुख्य शक्ति भएको उल्लेख गर्दै बोर्ड र व्यवस्थापनबीचको सहकार्यले सुशासनलाई मजबुत बनाएको उनको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया