चुनाव नजिकिँदै जाँदा सेयर बजारले नयाँ रेकर्ड बनाउनेछ : तुलसीराम ढकाल
- BFIS News
- 2026 Jan 26 16:18
काठमाडौं। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले नजिकिँदै गरेको निर्वाचनसँगै सेयर बजारले नयाँ रेकर्ड बनाउने दाबी गरेका छन्। पछिल्लो समय सेयर बजारमा देखिएको कारोबार वृद्धिलाई संकेत गर्दै उनले अब लगानीकर्ताको नाफा बुक गर्ने प्रवृत्तिमा पनि परिवर्तन आउने बताएका छन्।
अध्यक्ष ढकालका अनुसार पहिले एक दुई रुपैयाँमै नाफा बुक गर्ने लगानीकर्ताहरू अब क्रमशः ५० देखि १०० रुपैयाँसम्म कमाएपछि मात्रै नाफा सुरक्षित गर्ने अवस्थामा पुग्नेछन्। यसले बजार परिपक्व बन्दै गएको संकेत गर्ने उनको भनाइ छ।
पछिल्लो एक महिनाको अवधिमा नेप्से परिसूचक २६१० अंकबाट बढेर २७६९ अंकसम्म पुगेको छ। यस अवधिमा १५० अंकभन्दा बढीको सुधार देखिएको छ। बजारमा देखिएको यो सुधारको एउटा प्रमुख कारण बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको पनि ढकालले बताए।
उनका अनुसार हाल बैंकिङ प्रणालीमा साढे ११ खर्ब रुपैयाँभन्दा बढी लगानी योग्य रकम रहेको छ। “अहिलेसम्म कर्जा प्रवाह अपेक्षाअनुसार हुन सकेको छैन। उद्योग, धन्दा र कलकारखानामा उत्साह देखिएको छैन। भूकम्पपछि पनि लगानीकर्ताको मनोबल खासै बढ्न सकेको अवस्था छैन,” ढकालले भने।
जेन्जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, चुनाव घोषणा र अन्तरिम सरकार गठनका बाबजुद पनि लामो समयसम्म चुनाव हुने नहुने भन्ने अन्योल कायम रहँदा लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको उनले उल्लेख गरे। तर माघ ६ गते प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता भएपछि भने देशमा चुनाव हुनेमा विश्वास बढेको उनको विश्लेषण छ।
“अब चुनावपछि कम्तीमा पनि नयाँ सरकार बन्छ। अहिलेको माहोल हेर्दा पुराना दलभन्दा नयाँ पार्टीहरू अगाडि आउने सम्भावना देखिन्छ। नयाँ जोस, जाँगर र उत्साहका साथ चुनाव हुने संकेत देखिएकाले लगानीकर्तामा पनि उत्साह थपिएको छ,” ढकालले भने।
उनले पछिल्ला दिनमा कारोबार रकम तीव्र रूपमा बढिरहेकोतर्फ ध्यानाकर्षण गराए। “माघ ६ गतेपछि लगातार कारोबार रकम बढेको देखिन्छ। आज मात्रै १६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भयो, जबकि केही समयअघि कारोबार रकम ३ अर्बमा झरिसकेको थियो। लामो समय बजार ३/४ अर्बकै दायरामा घुमिरहेको थियो,” उनले बताए।
ढकालका अनुसार कारोबार रकम ८ अर्ब, ९ अर्ब, १० अर्ब हुँदै १३ अर्ब र १६ अर्ब पुग्नुको अर्थ बजार परिपक्व बन्दै जानु हो। “अहिले लगानीकर्ताहरू निकै सुझबुझका साथ लगानी गरिरहेका छन्। ‘वेट एण्ड सी’ गरेर बसेका लगानीकर्ताहरू पनि बजारमा प्रवेश गरिरहेका छन्। साथै संस्थागत लगानीकर्ताहरूसँग पनि प्रशस्त लगानी योग्य रकम छ,” उनले भने।
उनका अनुसार हाल संस्थागत लगानीकर्ताहरू पनि पुँजी बजारमा सक्रिय देखिन थालेका छन् र आगामी दिनहरू पुँजी बजारका लागि सुनौलो अवसर बन्नेछ। “फागुन २१ गते चुनाव भयो र सोचेजस्तै राम्रो पार्टी वा दलले जित्यो भने अहिलेको कारोबारको ट्रेन्ड हेर्दा पुँजी बजार अझै अगाडि बढ्छ भन्ने स्पष्ट देखिन्छ,” ढकालले विश्वास व्यक्त गरे।
पुँजी बजारमा लङ टर्म र सर्ट टर्म दुवै खालका लगानीकर्ता आवश्यक रहेको उल्लेख गर्दै उनले सर्ट टर्म ट्रेडर र लङ टर्म इन्भेस्टर दुवै बजारको सौन्दर्य भएको बताए। “मार्केट बढ्दै जाँदा सर्ट टर्म ट्रेडरको संख्या बढ्छ, तर बजारले त्यसलाई पचाउँदै जान्छ। पहिले १५/२० रुपैयाँ नाफामा बेच्ने लगानीकर्ता अब कन्फिडेन्स बढेपछि ५०/१०० रुपैयाँ नाफा गर्न खोज्ने अवस्थामा पुग्छन्,” उनले भने।
राष्ट्र बैंकको नीतिका कारण कर्जाको विषयमा अब कुनै अन्योल नरहेको र नीतिगत सुधारहरू भइसकेको अवस्थामा बजार पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्ने ढकालको निष्कर्ष छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया