Nepal Life

राष्ट्रिय स्तरका विकास बैंकबीच नेक–टु–नेक प्रतिस्पर्धा

NMB Bank
  • BFIS News
  • 2026 Jan 30 06:11
राष्ट्रिय स्तरका विकास बैंकबीच नेक–टु–नेक प्रतिस्पर्धा
United Ajod

काठमाडौं। राष्ट्रिय स्तरका विकास बैंकहरूबीच पछिल्ला दिनमा तीव्र प्रतिस्पर्धा देखिएको छ। कतिपय वाणिज्य बैंक र फाइनान्स कम्पनीहरू विभिन्न समस्यामा देखिइरहँदा विकास बैंकहरूको वित्तीय अवस्था भने आकर्षक बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म आइपुग्दा विकास बैंकहरूको समग्र नाफा २७.९७ प्रतिशतले वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

हाल सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ८ विकास बैंकहरूले वाणिज्य बैंक सरहका सेवा–सुविधा प्रदान गर्दै आफूलाई वित्तीय रूपमा सबल बनाउँदै लगेका छन्। यही क्रममा मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंकमा वाणिज्य बैंकमा स्तरोन्नतिका लागि निवेदनसमेत दिइसकेको छ, जसले विकास बैंकहरूको आत्मविश्वास र विस्तारको चाहना झल्काउँछ।

पछिल्लो ६ महिनाको अवधिमा ८ विकास बैंकले कुल ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले बढी हो। गत वर्षको ६ महिनामा यी बैंकहरूले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए।

नाफा आर्जनमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकको नाफा ३३.५७ प्रतिशतले बढेर ६७ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५० करोड ३१ लाख रुपैयाँ रहेको थियो।

पुष मसान्तसम्मको अवधिमा दोस्रो धेरै नाफा कमाउने बैंकमा गरिमा विकास बैंक रहेको छ। बैंकको नाफा १५.६३ प्रतिशतले वृद्धि भई ६३ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, समिक्षा अवधिमा शाइन रेसुङ्गा विकास बैंकको नाफा २२.१९ प्रतिशतले बढेर ४० करोड ४२ लाख रुपैयाँ पुगेको छ। कामना सेवा विकास बैंकले २२.३४ प्रतिशत वृद्धि गर्दै ३९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ भने ज्योति विकास बैंकको नाफा २४.४४ प्रतिशतले बढेर ३१ करोड १२ लाख रुपैयाँ पुगेको छ।

महालक्ष्मी विकास बैंकले ६.४१ प्रतिशतको वृद्धि सहित ३० करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको नाफा उल्लेखनीय रूपमा ५३.९५ प्रतिशतले बढेर ३० करोड २५ लाख रुपैयाँ पुगेको छ।

राष्ट्रिय स्तरका विकास बैंकमध्ये नाफाको हिसाबले लुम्बिनी विकास बैंक पुच्छरमा रहेको छ। यद्यपि बैंकको नाफा ९३ प्रतिशतले बढे पनि कुल नाफा २८ करोड ५३ लाख रुपैयाँमै सीमित रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया