शिखर पावर डेभलपमेन्टको आइपिओ फागुन १७ गतेदेखि निष्काशन हुने, ३२ लाख कित्ता जारी
- BFIS News
- 2026 Feb 17 14:07
काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई शेयर बिक्री खुला गर्न लागेको हो।
शिखर पावर डेभलपमेन्ट लिमिटेड ले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ। कम्पनीलाई जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर ३२ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त भएको थियो।
स्वीकृत कुल शेयरमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।
अब दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता सुरक्षित गरी बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्नेछ। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ, जसअनुसार सर्वसाधारणतर्फ करिब १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको निष्काशन हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा फागुन २२ गते बन्द हुनेछ भने पूर्ण आवेदन नपरेमा चैत १ गतेसम्म खुला रहने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशन प्रयोजनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्छ।
कम्पनीद्वारा प्रवर्द्धित ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २४ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २९.०८ वर्ष बाँकी रहेको छ। साधारण आधारमा लगानी फिर्ता अवधि ८.९२ वर्ष तथा डिस्काउन्ट आधारमा १३.६४ वर्ष रहेको उल्लेख गरिएको छ। आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइसकेको छ।
आईपीओको बिक्री तथा निष्काशन व्यवस्थापकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया