Nepal Life

‘स्मार्ट मनी टक्स’ नारासहित चैतमा ग्लोबल मनी विक मनाइँदै

NMB Bank
  • BFIS News
  • 2026 Feb 22 11:54
‘स्मार्ट मनी टक्स’ नारासहित चैतमा ग्लोबल मनी विक मनाइँदै
United Ajod

काठमाडौँ, फागुन १० गते । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ नेपाल राष्ट्र बैंक ले आगामी चैत महिनामा ग्लोबल मनी विक मनाउने भएको छ। वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्र बैंकले मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म विभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन गर्ने जनाएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार यस वर्ष मनाउन लागिएको ग्लोबल मनी विकको यो चौधौँ शृङ्खला हो। बालबालिका तथा युवामा वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्तिको विकास गर्ने लक्ष्यसहित यो सप्ताहव्यापी अभियान आयोजना गरिँदै आएको छ।

ग्लोबल मनी विक विश्वव्यापी वित्तीय सचेतना अभियान हो, जुन Organisation for Economic Co-operation and Development (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष मनाइँदै आएको छ। हालसम्म यो अभियान १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको बताइएको छ।

नेपालमा भने यस वर्ष पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै कार्यक्रम सञ्चालन गर्नेछ। राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पूँजीबजारसँग सम्बन्धित निकायलगायत संस्थाको सक्रिय सहभागिता रहनेछ।

यसका अतिरिक्त अन्य सङ्घसंस्था तथा सरोकारवाला निकायसमेत अभियानमा आबद्ध हुन सक्ने जनाउँदै राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण निकायलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। अभियानलाई देशभर भव्य र प्रभावकारी रूपमा सञ्चालन गरी बालबालिका र युवामाझ ‘स्मार्ट मनी’ को अवधारणाबारे व्यवहारिक ज्ञान विस्तार गर्ने लक्ष्य राखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया