दार्चुलामा जिप दुर्घटना: सिँचाइ डिभिजनका दुई कर्मचारीको मृत्यु, चार घाइते
- BFIS News
- 2026 Mar 31 12:43
दार्चुला, चैत १७ — दार्चुलामा भएको जिप दुर्घटनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा महाकाली नगरपालिका–६ निसिल घर भई कार्यालयमा कार्यरत अधिकृत इन्जिनियर मनिषा चन्द पाल र शैल्यशिखर नगरपालिका–१ बारिल घर भई कार्यरत सिनियर एओ भरतबहादुर तितरा रहेका छन्।
उनीहरू योजनाको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४ काडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सुपप्र–००१ ज १६४१ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो। वडा अध्यक्ष रामसिंह ठगुन्नाका अनुसार दुर्घटनास्थलमै दुवै जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा मालिकार्जुन गाउँपालिका–५ डाडाकोट घर भई कार्यालय सहयोगी मिनबहादुर पाल, जिप चालक प्रकाशसिंह ठगुन्ना तथा स्थानीय विक्रमसिंह महर र अकबर महर रहेका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको टोलीले घटनास्थलमा पुगेर उद्दार कार्य गरेको थियो। दुर्घटना मङ्गलबार बिहान करिब ९ बजेतिर भएको प्रहरीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया